सूचनाको शक्ति - The Power Of Information

        

सुशील कोइराला महिला क्रिकेटः बागमती र कोहलपुर मेयर-११ विजयी

बाँकेको कोहलपुरमा जारी सुशील कोइराला मेमोरियल अण्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा बागमती प्रदेश र कोहलपुर मेयर–११ विजयी भएका छन् ।

आजको पहिलो खेलमा बागमती प्रदेशले विजयी सुरुवात गर्ने क्रममा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्यो । लगातार दोश्रो हार बेहोरेको लुम्बिनी पहिलो खेलमा कोहलपुर मेयर–११ संग पराजित भएको थियो ।

कोहलपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले दिएको ११७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर १०८ रन मात्र बनायो । एन्जिला पाठकले अविजित ४२ रन बनाएता पनि लुम्बिनीको जितको लागि पर्याप्त भएन ।

पाठकले ५६ बलमा ४ चौका प्रहार गरिन् । कप्तान आश्मा पुलामी मगरले २० तथा सुष्मिता भुसालले १० रन योगदान दिए । बागमतीकी बिपिशा शाहीले २ विकेट लिंदा क्रिश्मा गुरुङ, मनिषा उपाध्याय र लक्ष्मी रुम्बाले १र१ विकेट लिए ।

टस जितेर ब्याटिंग गरेको बागमतीले निर्धारित २० ओभरमा ४ विकेट क्षतीमा ११६ रन बनायो । बागमतीको लागि कप्तान सोनी पाख्रिनले सर्वाधिक ४४ रन बनाइन् । त्यस क्रममा उनले ३६ बलमा ३ चौका प्रहार गरे । ऐलि यादवले १४, बिपिशा शाहीले १२ तथा साबिका यादवले ११ रन बनाइन् । अतिरिक्तको रुपमा लुम्बिनीले २७ रन दियो ।

लुम्बिनीको बलिंगमा सुष्मिता भुसाल, आशमा पुलामी मगर र एन्जीला पाठकले १/१ विकेट हात पारिन् । खेलको प्लेयर अफ द म्याच बागमती प्रदेश सोनी पाख्रिन घोषित भइन् ।

आज नै भएको दोश्रो खेलमा कोहलपुर मेयर–११ ले गण्डकी प्रदेशलाई ३४ रनले पराजित गर्यो । लगातार दोश्रो जित दर्ता गरेको कोहलपुरले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो ।  कोहलपुर मेयर–११ ले दिएको १०० रनको लक्ष्य पछ्याएको गण्डकीले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर ६५ रन मात्र बनायो ।

गण्डकीको ब्याटिंगमा सलिना सेनले १९ तथा सिमाना केसीले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा योगदान दिन सकेनन् । कोहलपुर मेयर–११ को बलिंगमा दायाँ हाते फास्ट बलर हैमवती रोयले सर्वाधिक ३ विकेट लिइन् । ४ ओभर बलिंग गर्दै रोयले २५ रन खर्चिन् । भवानी कमाती, प्रतिमा शाह, आरति महतो र रिया शर्माले १/१ विकेट लिए ।

टस जितेर ब्याटिंग गरेको कोहलपुर मेयर–११ ले निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाएर ९९ रन बनायो । मेयर–११ को लागि सिमा कुँवरले सर्वाधिक ३० रन योगदान दिइन् । त्यस क्रममा उनले ४४ बलमा ३ चौका प्रहार गरिन् ।

लिशा यादवले २२ तथा साना प्रभिनले १० रन बनाइन् । गण्डकीकी बलिंगमा रचना चौधरी र निरुता जिटिले समान ३ विकेट हात पारिन् । निरुताले ३.४ ओभरमा १९ रन तथा रचनाले ४ ओभरमा ११ रन खर्चिन् ।

कुसुम गोदार र आकृति तिवारीले १/१ विकेट हात पारिन् । खेलको प्लेयर अफ द म्याच कोहलपुर मेयर–११ कि हैमवती रोय घोषित भईन् । प्रतियोगिता अन्तर्गत भोलि पनि दुई खेल हुनेछन् ।

पहिलो खेलमा विहान ९ः३० बजे बागमती र सुदूरपश्चिम तथा दोश्रो खेलमा दिउँसो १ः३० बजे गण्डकी र लुम्बिनी प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतवार १९:४७

लोकप्रिय