सूचनाको शक्ति - The Power Of Information

        

जिभिएन स्कुललाई दुई वर्ष खेलमा प्रतिबन्ध लगाइने

 बाँके जिल्ला फुटबल सङ्घले जिभिएन स्कुललाई दुई वर्षको लागि खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

बाँके जिल्ला फुटबल सङ्घको शनिबार बसेको बैठकले प्रतियोगिताको दौरान जिभिएन टिमका अफिसियल, प्रशिक्षक र खेलाडीले खेल भावना विपरीतको क्रियाकलाप गरेको भन्दै दुई वर्ष र १० हजार जरिवाना गर्ने निर्णय गरेको हो ।

कारबाहीमा परेको जिभिएनले दुई वर्षसम्म सङ्घले आयोजना गर्ने प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन । खेल रेफ्री, म्याच कमिसनर र प्रतियोगिता संयोजक तथा सङ्घका उपाध्यक्ष निर्मल चन्दको प्रतिवेदनका आधारमा सङ्घले कारबाही गरेको हो ।

बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीको अध्यक्षमा बसेको बैठकले अन्य महत्त्वपूर्ण निर्णय समेत गरेको छ । सङ्घले बाँके जिल्ला स्तरको मेयर कप च्याम्पियन टिम नेपालगन्ज सेन्ट जेभियर्स छात्र टिम र कैलाली मेयर कपको डिफेन्डिङ च्याम्पियन टिम कैलाली गुरुकुल इङ्लिस मिडियम स्कुलबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

फागुन १९ गते बाँकेमा आयोजना गरिने मैत्रीपूर्ण फुटबलको खेलको संयोजकको रूपमा सङ्घका सदस्य दीपेन्द्र घलेलाई जिम्मेवारी दिइएको छ । मैत्रीपूर्ण फुटबल खेलको लागि खेलाडी छनोटको जिम्मेवारी प्रशिक्षक सानु तामाङ र रवीन्द्र श्रेष्ठले पाएका छन् ।

मैत्रीपूर्ण फुटबलको टिम तयारीको लागि मुख्य प्रशिक्षकको रूपमा भिमजंग शाह, प्रशिक्षकमा युवराज शाही र विशाल परियारलाई छनोट गरिएको छ ।

यसैगरी सङ्घले प्रतिभावान् खेलाडी उत्पादन गर्नको लागि वर्षभरि ग्रासरुट कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यसको लागि सङ्घका अध्यक्ष शाहीको संयोजकत्वमा ग्रासरुट कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ । ग्रासरुट कार्यक्रमको सदस्यका रूपमा सङ्घका उपाध्यक्षद्धय निर्मल चन्द, टोपेन्द खत्री, महासचिव कमल खत्री र सदस्य दीपेन्द्र घले छन् ।

सङ्घले अखिल नेपाल फुटबल सङ्घको फागुन १४ गते काठमाडौँमा हुने साधारण सभामा सङ्घका उपाध्यक्ष टोपेन्द्र खत्री र सदस्य नम्रता तामाङलाई पठाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतवार १९:४४

लोकप्रिय