बाँकेका केही सामुदायिक विद्यालयका विद्यार्थीलाई सानै उमेरदेखि आयुर्वेद औषधी र योग शिक्षाका बारेमा जानकारी गराउन थालिएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाको आयुर्वेद शाखाले दिएको जानकारी अनुसार गाउँपालिकाको वडा नम्बर ९ ढकेरीस्थित गणेश माध्यमिक विद्यालयले त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई आयुर्वेद औषधी र योग शिक्षाका बारेमा कक्षामै जानकारी गराउन थालेको हो ।
विद्यार्थीहरूलाई आयुर्वेद औषधीको महत्त्व र योग शिक्षाको आवश्यकता तथा महत्वबारे कक्षामै जानकारी गराइएको राप्तीसोनारी गाउँपालिका आयुर्वेद शाखाका प्रमुख अञ्जना थारुले जानकारी दिनुभयो ।
उहाँले विद्यार्थीहरूलाई स्वस्थ जीवनशैली, स्थानीय स्तरमा पाइने जडीबुटीको पहिचान, आवश्यकता र महत्त्व तथा तनाव व्यवस्थापनका बारेमा समेत जानकारी गराइएको बताउनुभयो ।
आयुर्वेद शाखा प्रमुख थारुले योग प्रशिक्षक गौरी शङ्कर मण्डलले विद्यालयमै पुगेर विद्यार्थीहरूलाई योग शिक्षाबारे विभिन्न जानकारी गराउनुका साथै योग समेत गराउनुभएको बताउनुभयो ।
शाखा प्रमुख थारुसहित रोशन शर्मा, कविता खत्रीले पनि विद्यार्थीहरूलाई प्रशिक्षण दिनुभएको हो । योग शिक्षा कार्यक्रममा कक्षा ९ र १० का १०० भन्दा बढी विद्यार्थीहरू सहभागी भएका थिए ।
यसअघि आयुर्वेद शाखाले वडा नम्बर ९ का ज्येष्ठ नागरिकलाई लक्षित गरेर स्वास्थ्य सेवा प्रवर्द्धन कार्यक्रम पनि गरेको थियो । सो कार्यक्रममा वडाका १७८ जना ज्येष्ठ नागरिकले सेवा लिएका थिए । उनीहरूको स्वास्थ्य चेकजाँचसँगै अश्वगन्धा, आमलकी चूर्ण, दसमूलक लगायतका इम्युनिटी पावर बढाउने खालका आयुर्वेद औषधी समेत वितरण गरिएको थियो ।
चालू आर्थिक वर्षमा गाउँपालिकाका विभिन्न विद्यालयहरूमा आयुर्वेदिक तथा योग शिक्षा कार्यक्रमसँगै सुत्केरी आमाहरूलाई दुग्ध प्रवर्धक औषधी वितरण, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, योग शिविर, स्वास्थ्य जीवनशैली जस्ता कार्यक्रम गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताउनुभयो । उहाँका अनुसार पालिकाले त्यसका लागि चालु आर्थिक वर्षमा १५ लाख रुपियाँ बजेट विनियोजन समेत गरेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके