सूचनाको शक्ति - The Power Of Information

        

विकास भित्रिँदाको खुशी

खजुरामा ४५ बर्षपछि पुल निर्माण सुरु, जोडिँदै ‘बी गाउँ र धौलागिरी’

आर्थिक बर्ष २०६२-०६३ सालसम्म पैदल यात्री तथा साइकल यात्री हिँड्ने बाटो तथा भत्किएको अवस्थाको पुल त्यसपछि भने खण्डहर बनेको थियो ।

पुल भत्किएको करिब ४५ बर्षपछि खजुराको ‘बी’ गाउँ र धौलागिरी जोड्ने पुल निर्माणको काम सुरु भएको छ । २०२७ सालतिर बाँकेको खजुरा क्षेत्रमा पुनर्वास कम्पनीले निर्माण गरेको खजुराको ‘बी’ गाउँ र धौलागिरी जोड्ने पुल भत्किएको चार दशकपछि निर्माणको काम सुरु भएको हो ।

बाँके खजुरा गाउँपालिका वडा नम्बर तीनमा पर्ने उक्त पुल २०२७ सालतिर निर्माण गरिएको थियो । पुल निर्माणको करिब १० बर्षपछि उक्त पुल बाढीले भत्काइदिएको थियो । भत्किएको करिब ४५ बर्षसम्म कसैको आँखा नपरेको पुल तथा सडक निर्माण कार्य सुरु भएसंगै स्थानीय हर्षित भएका छन् ।

प्रदेश सरकारको ६ करोड १० लाख ९० हजार २८६ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न गर्ने जिम्मा पाएको आकृति कुमार जेभीले पुल निर्माणको कार्य सुरु गरेको खजुरा गाउँपलिकाका अध्यक्ष डम्बर बिक ‘तुफान’ले जानकारी दिए । उनका अनुसार निर्माण कम्पनीले ‘बी’ गाउँ र धौलागिरी जोड्ने पुल र सडक २०८२ बैशाखमा सम्पन्न गर्नुपर्नेछ ।

तत्कालीन पुनर्वास कम्पनीले निर्माण गरेको उक्त पुल तत्कालीन समयमा बी गाउँ, ए गाउँ, एल गाउँ, गौघाट हुँदै बर्दियालाई खजुरा र नेपालगन्जसम्म जोड्ने एकमात्र पुलको रुपमा रहेको स्थानीय लक्ष्मण बुढामगर बताउँछन् । नेपालगन्ज–खजुरा र खजुरा–गुलरिया सडकको बिकास नहुदै बर्दिया–गौघाट र गौघाट–बी गाउँ हुँदै धौलागिरी र नेपालगन्जलाई जोड्ने उक्त पुल मुख्य बाटोको रुपमा विकसित थियो ।

कपास विकास समितिको मुख्य कार्यालय खजुरामै रहेको हुँदा उत्पादित कपासको लागि ट्याक्टर तथा लडियाहरुको लागि एकमात्र मुख्यबाटोको रुपमा रहेको उक्त बाटो र पुल त्यो समयमै इट्टाले पीच गरिएको थियो । आर्थिक बर्ष २०६२-०६३ सालसम्म पैदल यात्री तथा साइकल यात्री हिँड्ने बाटो तथा भत्किएको अवस्थाको पुल त्यसपछि भने खण्डहर बनेको थियो ।

खण्डहर बनेको उक्त सडक र पुल रहेको करिब एक किलोमीटर क्षेत्रमा लागुपदार्थ दुर्व्यसनीको अखडा बनेको थियो । देश पन्चायती ब्यवस्था, प्रजातान्त्रिक ब्यवस्था हुँदै गणतान्त्रिक राज्य ब्यवस्था सम्म आइपुग्दा पुल भत्किएको चार दशक बित्दा पनि पुल नबन्दा खजुरा वडा नम्बर ३ बी गाउँ र धौलागिरीका स्थानीयले पुल बन्ने आशा नै मारेका थिए ।

पुल नबनेपछि बर्षौदेखि गुनासो गर्दै आएका स्थानीय लक्ष्मण बुढामगर यतिबेला निकै हर्षित छन् । ‘मेरो र हाम्रो गाउँको गुनासो सुनुवाइ भयो, अब हामीले भन्दा पनि हाम्रा सन्ततीलाई सहज हुने भयो,’ पुल निर्माण स्थलमै भटिएका बुढा मगरले हर्षित हुँदै बताए । खजुराको बी गाउँमा गाउँपालिकाको प्रशासनीक केन्द्र रहेकाले पुल निर्माण झनै महत्वपूर्ण मानिन्छ ।

पुल निर्माणअघि बढेकोले गाउँलेमा खुसीयाली छाएको स्थानीय भुवन रावत बताउँछन् । खजुरा एक नम्बर तथा धौलागिरीका बासिन्दाका लागि गाउँपालिका कार्यालयसम्म पुग्न सबैभन्दा छोटो दुरीको यात्राका लागि यो पुल महत्वपूर्ण रहेको गाउँपलिकाका अध्यक्ष बिकले बताए । पुल निर्माणपछि बी गाउँबासीलाई स्वास्थ्य चौकी तथा नेपालगन्ज आउजाउ गर्न सहज हुनेछ ।

त्यस्तै उक्त पुल निर्माणपछि जनता उच्च मावि, ज्ञानोदय पब्लिक क्याम्पस तथा आदर्श उच्च माविका लागि विद्यार्थीका लागि समेत आवतजावतमा समेत सहजता हुनेछ । गाउँपलिकाका अध्यक्ष बिकले पुल निर्माण कार्यलाई सम्झौता बमोजिम समयमै सम्पन्न गर्न गाउँपालिकाले कुने कसर बाँकी नराखी ठेकेदार कम्पनीलाई सचेत गराइरहने बताए ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार १४:४९

लोकप्रिय