सूचनाको शक्ति - The Power Of Information

        

गोपीकृष्ण सिनेमा हल फागुन १ देखि बन्द हुने

 गोपीकृष्ण सिनेमा हल फागुन १ गतेदेखि बन्द हुने भएको छ । गोपीकृष्ण मुभिज प्रालिले शुक्रबार विज्ञप्ति जारी गर्दै हल बन्द हुने जानकारी गराएको हो ।

कोरोनाकालदेखिको बढ्दो घाटा र राज्यको विद्यमान कर प्रणालीको कारण देखाउँदै हल बन्द गर्ने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जनाएका छन् ।

२८ वर्षअघि स्थापना भएको यो हल नेपाली फिल्म प्रदर्शनको इतिहास बोकेको हल हो । वरिष्ठ चलचित्रकर्मी उद्धव पौडेलले स्थापना गरेको यो हलको मुख्य संरचना कोरोना लकडाउनपछि भत्काइएको थियो । कूल ७ हलबाट भत्काएर २ अडिटोरियम मात्र बाँकी थियो । बाँकी २ वटा हल पनि बन्द गर्ने निर्णय लिइएको हो ।

सुरुमा १८ सयभन्दा बढी दर्शक क्षमता थियो यसमा । प्रबन्ध निर्देशक पौडेल फिल्म नचलेको भनिएको दिनमा पनि अकुपेन्सी ६० प्रतिशत हुने गरेको सम्झिन्छन् । बलिउड फिल्म ‘राजा हिन्दुस्तानी’ एक महिनासम्म हाउसफुल चलेको स्मरण उनको छ । बाहुबली २ रिलिज हुँदा ७ वटै हाउसफूल थिए ।

नेपाली फिल्म निर्माताका लागि गोपीकृष्ण राम्रो कमाइ दिने स्रोत पनि थियो । प्रत्येक शुक्रबार र शनिबार गोपीकृष्णको बालकोनीमा पुगेर कलाकारले दर्शकलाई अभिवादन गर्थे । फिल्मवृत्तमा यो हलको प्रभाव यतिसम्म थियो कि कुन फिल्म हिट र कुन फिल्म फ्लप भन्ने निर्धारण यो हलको कलेक्सनले गथ्र्यो ।

गत महिना काठमाडौं महानगरले कर तिर्न ताकेता गरेको थियो । कर तिराउन भन्दै महानगरका अधिकृतहरु हलमै पुगेर एकसाताभित्र तिर्न ताकेता गरेका थिए । स्थानीय कर र चलचित्र विकास बोर्ड शुल्कप्रति असन्तुष्टि जनाउँदै चलचित्र संघको आह्वानमा गत सोमबार देशभरका हल बन्द रहेका थिए ।

संघका अनुसार चलचित्र विकास बोर्ड स्थापनाअघि ४५० हल रहेकोमा अहिले आएर मुलुकमा डेढसय जति मात्र हल छन् ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार १४:२८

लोकप्रिय