सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पतालमा ‘एमआरआई’ सेवा

पश्चिम नेपालको विशिष्टिकृत अस्पतालका रूपमा विकसित भइरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा एमआरआई (म्याग्नेटिक रेजोनेन्स इमेजिङ) मेसिन सञ्चालनमा आएको छ।

बिहीबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले एक कार्यक्रमबिच एमआरआई मेसिन सञ्चालन सेवाको उद्घाटन गर्नुभएको हो ।

नेपालगन्ज उपमहानगर प्रमुख प्रशान्त विष्टले लामो प्रतीक्षापछि भेरी अस्पतालमा एमआरआई सेवा सञ्चालनमा आएपछि बिरामीले राहत पाउने बताउनुभयो । उहाँले एमआरआई सेवा सञ्चालनसँगै यसलाई कसरी दिगोपना दिन सकिन्छ सोको बारेमा सोच्नुपर्ने बताउनुभयो । नगरप्रमुख विष्टले सेवा सञ्चालनका लागि हालको विकास समिति तथा अस्पताल प्रशासन र पूर्व विकास समिति र अस्पताल प्रशासनलाई धन्यवाद समेत प्रदान गर्नुभयो । उहाँले एमआरआई सेवा सञ्चालनलाई आवश्यक पर्ने भौतिक तथा आर्थिक सहयोग समेत उपमहानगरले प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.पवनजङ्ग रायमाझीले लुम्बिनी प्रदेशकै सरकारी अस्पतालमध्ये भेरी अस्पतालमा पहिलो पटक विशिष्ट क्षमताको म्याग्नेटम भिटा सिष्टमको थ्री टी एमआरआई मेसिन सेवा सञ्चालनमा आएको बताउनुभयो । उहाँले यो मेसिनले बिरामीका विभिन्न रोगहरू पहिचान गरी रोग निदानको माध्यम हुने बताउनुभयो । एमआरआई सेवा लिने बिरामीलाई अस्पतालले न्यूनतम शुल्क तोक्नै पर्ने बाध्यता भएको भन्दै उहाँले सबै नागरिकलाई सरकारले लागू गरेको स्वास्थ्य बिमा गर्न पनि सल्लाह दिनुभयो । बिमा कार्यक्रममा आवद्धत भएपछि हरेक नागरिकले यो सेवा पनि निःशुल्क पाउने उहाँको धारणा थियो ।

रेडियोलोजी विभाग प्रमुख डा.विश्वनाथ शर्माले विशिष्ट क्षमताको म्याग्नेटम भिटा सिष्टमको थ्रि टी एमआरआई मेसिनले बिरामीका शरीरभित्रका विभिन्न अङ्गहरू तथा नसाहरूसम्म पुगेर सूक्ष्म तरीकाले हेर्न सकिने बताउनुभयो । मानिसका शरीरमा भएका चुम्बकीय शक्तिका कारण यो मेसिनमार्फत साना-साना रोगहरू पत्ता लगाउन सहज हुने उहाँले बताउनुभयो । एमआरआई गर्दा सामान्य आधादेखि एक घण्टाको समय लाग्ने भन्दै उहाँले मानिसलाई यसको प्रयोगबाट साइड इफेक्ट तथा कुनै किसिमको नकारात्मक प्रभाव हुने सम्भावना एकदमै कम हुने उहाँको भनाइ थियो ।

अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका जनताको रिफरल सेन्टरका रूपमा रहेको भेरी अस्पतालमा एमआरआई सेवा सञ्चालनसँगै नागरिकले चर्को शुल्क तिरेर निजी अस्पतालमा धाउनुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँले एमआरआई गर्नुपर्ने बिरामीले अब भेरीबाटै न्यूनतम शुल्कमा सेवा लिन सक्ने बताउनुभयो । सरकारले लागू गरेको स्वास्थ्य बिमामा सम्पूर्ण नागरिकहरू आबद्ध भए यो सेवा पनि निःशुल्क हुने बताउँदै उहाँले जिल्लाका सबै स्थानीय तहका प्रमुखहरूसँग यस विषयमा छलफल गर्ने योजना बनाएको पनि जानकारी दिनुभयो । एमआरआई सेवासँगै अस्पतालमा अन्य विशिष्टकृत सेवाहरू पनि निरन्तर सञ्चालन गरिने उहाँले बताउनुभयो ।

यस्तै, अस्पतालमा बिहीबार एमआरआई मेसिन उद्घाटन गरिएसँगै सेवा पनि सुरु भएको छ । अस्पतालले उद्घाटनकै दिनमा पहिलो एमआरआई सेवा लिने सेवाग्राहीलाई निःशुल्क सेवा प्रदान गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका १९ वर्षीया निलम वर्मालाई पहिलो सेवा प्रदान गर्न लागिएको रेडियोलोजी विभागका रेडियोटेक्नोलोजिष्ट इन्चार्ज स्निता गुरुङले बताउनुभयो। गुरुङका अनुसार बिरामी निलम केही दिन अघि अस्पतालकै गाइनो वार्डमा सुत्केरी हुनुभएको थियो । सुत्केरी हुनुभएकी वर्माको शिशुको मृत्यु भएको थियो । तत्पश्चात् बिरामी वर्माको हातखुट्टा नचल्ने समस्या देखिएको थियो । सम्बन्धित विभागका चिकित्सकको सिफारिस अनुसार वर्माको एमआरआई गर्न लागिएको गुरुङले बताउनुभयो । आर्थिक अवस्था एकदमै कमजोर भएका कारण अस्पतालले निःशुल्क सेवा दिन लागेको हो ।

प्रमोद धिताल अध्यक्ष रहेको तत्कालीन अस्पताल विकास समिति तथा तत्कालीन अस्पताल प्रशासन प्रमुख मेसुहरू डा.प्रकाश थापा, डा.रेन्द्रबहादुर चन्द र डा.बद्री चापागाईँको अथक पहलपश्चात् गत साउन महिनाको पहिलो हप्ता भेरी अस्पतालमा उक्त एमआरआई मेसिन आइपुगेको समितिका पूर्वसदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो।

बुधबार मात्र बसेको अस्पताल विकास समितिको पहिलो बैठकले अस्पतालमा एमआरआई मेसिन तत्काल सञ्चालन गर्ने निर्णय गरेको अस्पताल विकास समितिका सदस्य डा.डक्टप्रसाद धितालले बताउनुभयो ।

न्यूरोसर्जरी, आर्थोस्कोपी लगायत विभिन्न विशिष्टिकृत सेवा सुरु भइसकेको सरकारी भेरी अस्पतालमा एमआरआई मेसिन जडानपश्चात् सेवा प्रवाह भएपछि एमआरआई गर्नुपर्ने बिरामीहरू अब निजी अस्पतालमा पुगेर चर्को शुल्क बुझाएर सेवा लिनु नपर्ने भएको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार १७:२७

लोकप्रिय