सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा ट्राफिक लाइट जडान गर्ने कार्य अन्तिम चरणमा

 नेपालगन्जमा ट्राफिक लाइट जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । ठेकेदार कम्पनीले लाइट जडान कार्यलाई तिव्रता दिएपछि नेपालगन्जको सडकमा अब छिट्टै ट्राफिक लाइट बल्ने भएको हो ।

नेपालगन्जका विभिन्न पाँच स्थानमा जडान गरिएका ट्राफिक लाइटमध्ये बुधवार साँझ गणेशमान चोकमा जडान गरिएको ट्राफिक लाइट बालेर परीक्षण गरिएको छ । परीक्षण सफल भएको निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् ।

ट्राफिक लाइट जडानका लागि ठेकेदारले ट्राफिक लाइटका पोल गाड्ने तथा भूमिगत तार बिछाउने प्रयोजनले खनेका नेपालगञ्जका सडकका खाल्डाखुल्डी पुर्ने, त्यसमाथि पिचिङ गर्ने, फिनिसिङ गर्नेलगायतका कार्यहरु सबै सम्पन्न गरेर पोलमा लाइट जडान गर्ने कार्य पनि सम्पन्न गरिसकेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।

प्रमुख विष्टले ठेकेदारले सडक विभागसँग ठेक्का सम्झौता गरी ट्राफिक लाइट जडान कार्यलाई तत्काल केहि ढिलासुस्ती गरेको भए पनि अबभने छिट्टै जडान कार्य सकेर सञ्चालनमा ल्याउन लागेको बताउनुभयो ।

उहाँका अनुसार रत्न राजमार्गअन्तर्गत जमुनाहा–कोहलपुर सडकखण्डमा पर्ने नेपालगञ्जको राँझा चोक, पुष्पलाल चोक, धम्बोझी चोक, विपी चोक र गणेशमान चोकगरी पाँच स्थानमा ट्राफिक लाइट जडानको काम अन्तिम चरणमा पुगेको छ ।

ठेकेदार कम्पनी भिजन इन्जिनियरिङ कन्ट्रक्सन, पिभिजन इन्जिनियरिङ सोलुशन काठमाडौंका इन्जिनियर पदम थापाले नेपालगन्जमा ट्राफिक लाइट जडानको कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।

सडकमा भूमिगत तार तथा पाइप बिछाउने काम तथा पोल गाड्ने काम सकाएर पोलमा लाइट तथा कन्ट्रोलर जडानको काम पनि सकिएको ई. थापाले जानकारी दिनुभयो ।

ट्राफिक लाइट जडान गरिएका राँझा चोक, पुष्पलाल चोक, धम्बोझी चोक, विपी चोक र गणेशमान चोकमा लाइट तथा कन्ट्रोलर जोड्ने काम सकिएको र बुधबारबाट गणेशमान चोकमा परीक्षण पनि गरी सफल भएको उहाँले बताउनुभयो ।

‘‘सबै स्थानहरुमा लाइट तथा कन्ट्रोलर जोड्ने काम सकिएको छ, गणेशमान चोकमा बुधबारबाट परीक्षण गरी लाइट बाल्ने काम सफल पनि भएको छ ।,’’ ई. थापाले भन्नुभयो, ‘‘अब केही स्थानमा फिनिसिङ गर्नुपर्ने काम सकाएर हप्ता दिनभित्र नेपालगन्जमा ट्राफिक लाइट बाल्छौं ।’’

थापाका अनुसार अबको एक हप्ता भित्रमै नेपालगन्जमा ट्राफिक लाइट बल्ने छ । लाइट जडान गरी सकेपछि चोकचोकमा कम्पनीका स्वयंसेवकहरु बसेर केही दिनसम्म ट्राफिक प्रहरी, सडकमा हिँड्ने सर्वसाधारण, विद्यार्थी तथा सवारीसाधनलाई ट्राफिक लाइटका चिन्हहरु, नियमहरु, सङ्केतहरुका बारेमा सचेतना समेत प्रदान गरिने उहाँले बताउनुभयो ।

थापाका अनुसार लाइट सञ्चालनमा आएको दुई वर्षसम्म मर्मत सम्भार तथा हेरचाहको जिम्मेवारी कम्पनीसँगै हुनेछ भने दुई वर्षसम्मको विद्युत महशुल सडक विभाग आफैंले भुक्तान गर्नेछ । भविष्यमा क्यामेरासमेत जडान गर्न मिल्ने गरी व्यवस्थित र वैज्ञानिक ढङ्गबाट ट्राफिक लाइट जोड्ने काम भएको उहाँले बताउनुभयो ।

सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखा काठमाडौंसँग ठेकेदार कम्पनी भिजन इन्जिनियरिङ कन्ट्रक्सन, पिभिजन इन्जिनियरिङ सोलुशन काठमाडौंले २०८० माघ २१ गतेभित्र काम सम्पन्न गर्नेगरी २०७९ पुस महिनामा एक करोड ५९ लाख रुपियाँ (भ्याटसमेत)मा ठेक्का सम्झौता गरेको थियो ।

नेपालगन्जमा ट्राफिक लाइट जडान कार्यका लागि नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट तथा उपप्रमुख कमरुद्दीन राईको उपस्थितीमा तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले २०७९ भदौ २९ गते शिलान्यास गर्नुभएको थियो ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार १२:३६

लोकप्रिय