सूचनाको शक्ति - The Power Of Information

        

जहाज भाडामा लिन निगमले बोलपत्र आह्वान गर्‍याे

नेपाल वायु सेवा निगमले दुई वटा न्यारोबडी जहाज भाडामा लिनका लागि आज अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।

अहिले निगमसँग रहेका दुई वटा वाइडबडी जहाज जापान, सिड्नी र दक्षिण कोरिया उडानमा प्रयोग भएका छन् । अन्य गन्तव्यको उडान चाप अहिले भइरहेका न्यारोबडी जहाजले धान्न नसक्ने भएकाले जहाज भाडामा लिन लागेको निगमको भनाइ छ ।

भाडामा ल्याउने जहाजले दिल्ली, दुबई, दोहा, मलेसियालगायतका गन्तव्यको उडान चाप व्यवस्थापन गर्न सकिने निगमले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । जहाज थप भएसँगै निगमको आय बढ्ने र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत अन्य गन्तव्यमा उडान भर्ने निगमको योजना छ । नेपाल सरकारबाट विभिन्न समयमा गठित निगम सुधार आयोग, समितिहरूले समेत निगमको सम्भावित व्यापारलाई विस्तार गर्न अहिले भएका जहाजले नपुग्ने र तत्काल जहाज थप्नुपर्ने सुझाव दिएकाले जहाज भाडामा लिन लागिएको निगमको भनाइ छ ।

यसैबीच नेपाल र स्विट्जरल्यान्डबीच द्विपक्षीय हवाई सम्झौता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको एक कार्यक्रमका बीच नेपाल र स्विट्जरल्यान्डबीच हवाई सम्झौता भएको हो । अब दुवै देशका विमानस्थल र एअरलाइन्सले आपसी सम्झौता र समझदारीमा एकअर्का देशमा उडान गर्न पाउनेछन् । योसँगै नेपालले हवाई सम्झौता गरेका देशको सङ्ख्या ४२ वटा पुगेको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार १९:३५

लोकप्रिय