सूचनाको शक्ति - The Power Of Information

        

बढ्दै छ देशभरको अधिकतम तापक्रम

पछिल्ला दिनमा देशभरनै अधिकतम तापक्रम बढ्ने क्रममा रहेकाे छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दुई वटा ठूलाठूला प्रणालीको आगमनपछि देशभर जाडो घट्ने सङ्केत देखा परेकाे हाे ।

‘यो विस्तारै जाडो घट्ने सङ्केत हो’, महाशाखाका मौसमविद् सरोज पुडासैनीले भने। उनकाअनुसार आइतबार काठमाडौँको अधिकतम तापक्रम १६ डिग्री सेल्सियस थियो भने यो तापक्रम मंगलबार बिहान बढेर १९.८ डिग्री पुगेको छ। मंगलबार दिउँसो अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसको हाराहारीमा हुने अनुमान गरिएको छ।

पुडासैनीकाअनुसार काठमाडौँको मात्र नभई देशभरको अधिकतम तापक्रम बढ्ने क्रममा छ। २२ वटै सिनोप्टिक केन्द्रबाट प्राप्त मौसम विवरणमा अधिकतम तापक्रम घटेको देखिन्छ। सिनोप्टिक स्टेसनबाट तीन/तीन घण्टामा मौसमका विवरण प्राप्त हुन्छन्।

‘त्यसैले तत्काललाई चिसो ह्वात्तै बढ्ने र मौसममा कुनै ठुलो परिवर्तन आउने सम्भावना छैन’, उनले भने, ‘तथ्याङ्क र विवरणहरू हेर्दा देशभरनै अब बिस्तारै अधिकतम तापक्रम बढ्ने देखिन्छ। यसले चिसोपन घटाउँदै जान्छ।’

त्यसो त काठमाडौँको न्यूनतम तापक्रम सोमबारको तुलनामा मंगलबार घटेको छ। सोमबार उपत्यकाको आकासमा बादल र कुहिरो थियो। त्यसले गर्दा सोमबार बिहानको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस पुगेको थियो तर मंगलवार यही तापक्रम घटेर ४ डिग्री पुग्यो। गत १४ गते मात्र काठमाडौँको न्यूनतम तापक्रम यस वर्षको सबैभन्दा कम २.१ डिग्रीमा झरेको थियो।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार १४:३९

लोकप्रिय