सूचनाको शक्ति - The Power Of Information

        

रास्वपा सभापति लामिछानेविरुद्ध अनुसन्धान सुरु

 कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सोमबार पीडितहरुले पूरक जाहेरी दिएपछि थप व्यक्तिहरुविरुद्ध अनुसन्धान सुरु भएको हो ।

कास्कीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले प्रहरीका पूरक जाहेरी प्राप्त भएपछि अनुसन्धान थालिएको जानकारी दिनुभयो । “पूरक जाहेरी छुट्टै दर्ता गर्नु पर्दैन, पुरानै मिसिलमा थप्ने हो, दर्ता नम्बर पनि पुरानै हुन्छ । सूर्यदर्शनबारे थप व्यक्तिहरुमाथि अनुसन्धान थालेका छौँ,” उहाँले भन्नुभयो ।

सूर्यदर्शन सहकारीका पीडितले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, लेखनाथका व्यवसायी नेत्रपाणि बास्तोला, सहकारीकै पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन लगायतविरुद्ध जाहेरी परेको छ । पीडितहरुले १४ संस्थाहरुविरुद्ध पनि जाहेरी दिएका छन् ।

सहकारीका सञ्चालक जिबी राईको समूहले गैरकानुनी तवरले सूर्यदर्शनबाट अरु विभिन्न संस्थामा रकम पठाउने, ऋण दिने गरेकाले ती संस्थाविरुद्ध पनि अनुसन्धान गर्नुपर्ने माग छ ।

पोखरा महानगरको सहकारी शाखाको प्रतिवेदनअनुसार सूर्यदर्शन सहकारी ठगी कान्डमा यसअघि नै १९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । महानगरको सहकारी शाखाको प्रतिवेदनले सभापति लामिछानेको नाममा सूर्यदर्शन सहकारीबाट एक करोड रकम जम्मा भएको औंल्याएको छ ।

कास्की प्रहरीले तीन पटक फर्काएको जाहेरी सोमबार लिएको हो । अब अनुसन्धान गरी पूरक प्रतिवेदन तयार गर्ने र दोषी पाइएमा सरकारी वकिलको कार्यालयमार्फत् अदालतमा पेश गरिने प्रहरीले जनाएको छ । अब सूर्यदर्शनका ऋणीहरुमाथि पनि अनुसन्धान हुने कास्कीका प्रहरी प्रमुख थापाले बताउनुभयो ।

काठमाडौंमा रहेको ग्यालेक्सी टिभीका अध्यक्ष रहेका जीबी राईसहितको समूहले सूर्यदर्शनको एक अर्ब ३५ करोड हिनामिना गरेको प्रहरी अनुसन्धानले देखाएको छ । यसअघि नै जाहेरी परेका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा चार जना प्रक्राउ परेका छन् भने बाँकी फरार छन् ।

सूर्यदर्शनका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ र सञ्चालक समिति सदस्य भविश्वर अर्याल अहिले पुर्पक्षका लागि थुनामा छन् ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब रुपियाँभन्दा बढी रकम हिनामिना अभियोग लागेका पूर्वअध्यक्ष जीबी राई लगायतको विरुद्ध डिफ्युजन नोटिस जारी भइसकेको छ । इन्टरपोलले माघ १२ गते सूर्यदर्शनका अध्यक्ष थानबहादुर बुढा, पूर्वअध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई र जिबीका दाजु भूपेन्द्र राईविरुद्ध नोटिस जारी गरिसकेको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार १२:४२

लोकप्रिय