२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

कोहलपुरमा अखाद्य चाउमिन र सस बनाउने उद्योगलाई कारबाही

सत्यपाटीसत्यपाटी । बाँके । २०८० माघ २३ गते मंगलबार

बाँकेको कोहलपुरमा उपभोक्ताको हित विपरीत सञ्चालनमा आएको एक चाउमिन तथा सस उद्योगलाई कारबाही गरिएको छ ।

उपभोक्ताको हित विपरीत सञ्चालनमा आएको कोहलपुरस्थित मामा भान्जा चाउमिन तथा सस उद्योगलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

उपभोक्ताले गरेको गुनासोका आधारमा सोमबार उक्त उद्योगमा अनुगमन गर्दा उत्पादन भएका वस्तुमा लेवलिङ्ग नभएको तथा बिल बिजकसमेत नभएको पाइएकाले कारबाही स्वरुप पाँच हजार रुपियाँ जरिवाना गरिएको र १४ हजार ८ सय रुपियाँ बराबरको अखाद्य चाउमिन र सस नष्ट गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

इलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख मनोजकुमार थारुको नेतृत्वमा सरोकारवाला निकायहरु सहितको टोलीले सो उद्योगमा अनुगमन गरेको उहाँले बताउनुभयो ।

साना उद्योगी तथा व्यवसायीहरूलाई न्यूनतम व्यावसायिक शिक्षा दिने तथा उपभोक्ताहरूलाई सचेतीकरण गर्ने कार्यमा स्थानीय तह, उद्योग वाणिज्य सङ्घ तथा नेपाल सरकारका सरोकारवाला निकायहरूले साझेदारी एवं सहकार्य गरी अगाडि बढ्नुपर्ने प्रजिअ पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति : २०८० माघ २३ गते मंगलबार