सूचनाको शक्ति - The Power Of Information

        

मेयर कप फुटबल : सेन्ट जेभियर्स र मोडेल एकेडेमी फाइनलमा

नेपालगन्ज मेयर कप फुटबल प्रतियोगिताको उपाधीका लागि छात्रतर्फ सेन्ट जेभियर्स र मोडेल एकेडेमीले फाइनलमा भिड्ने भएको छ भने छात्रातर्फ मनकामना मावि खजुरा र मोडेल एकेडमीले फाइनल भिड्ने भएका छन् ।

बाँके जिल्ला फुटबल संघले आयोजना गरेको मेयर कप फुटबल प्रतियोगितामा सेन्ट जेभियर्सले जय बागेश्वरी र मोडेल एकेडमीले कृष्ण माविलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । सेन्ट जेभियर्सले जय बागेश्वरीलाई १–० गोलले पराजित गरेको थियो । सो खेलमा सेन्ट जेभियर्सका आशिष सुनार म्याद अफ द म्याच घोषित हुनुभयो ।

अर्को खेलमा नेपालगन्ज मोडेलले कृष्ण माविलाई ट्राइबेकरमा ३–० गोलले पराजित गर्‍यो । निर्धारित समयमा दुवैतर्फबाट दुई/दुई गोल गरेका थिए । ट्राइबेकरमा मोडेलका विनोद शाही, रब्बु मल्ल र रुपेश बोहराले गोल गर्नुभयो । कृष्ण माविका निर्मल परियार, विशाल बाह्रघरे र विनोद सार्कीले गोल गर्न सक्नुभएन । मोडेलका गोकर्ण पुनमगर म्यान अफ द म्याच घोषित हुनुभयो ।

छात्रातर्फ मनकामना मावि खजुरा फाइनलमा पुगेको छ । जनसेवा मावि, गिजरालाई ट्राइबेकरमा ४–३ गोलले पराजित गर्दै मनकामना फाइनलमा पुगेको हो । यसअघि छात्रातर्फ मोडेल एकेडमी फाइनलमा पुगिसकेको छ ।

छात्र र छात्रा दुवैको फाइनल खेल बुधबार हुने एन्फाका केन्द्रीय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभयो ।

प्रतियोगितामा छात्रतर्फ २८ वटा र छात्रातर्फ ५ वटा स्कूलले भाग लिएका छन् । प्रतियोगिताको विजेताले २१ हजार उपविजेताले ११ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार १२:१५

लोकप्रिय