सूचनाको शक्ति - The Power Of Information

        

उग्र बन्दै लागूऔषध कारोबार, ६ महिनामा ३ हजार कारोबारी पक्राउ

लागूऔषध गाँजा ओसारपसार गरिरहेको अवस्थामा सोमबार काभ्रेबाट नुवाकोटका बुद्धमान तामाङ र रामेछापका सञ्जीव तामाङ तथा विमला तामाङ पक्राउ परे । उनीहरूलाई पनौती नगरपालिका– ५ आइटी पार्कबाट २८५ केजी गाँजासहित प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरूविरुद्ध प्रहरीले लागूऔषध नियन्त्रण ऐन बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ । प्रहरीले सञ्चालन गरेको लागूऔषध नियन्त्रण अभियानका क्रममा गाँजा, चरेस, अफिम, खैरो हेरोइन, नियन्त्रित पदार्थ समेतको कारोबारमा संलग्न हजारौँ अभियुक्त पक्राउ परिसकेका छन् । प्रहरीले नागरिकसँगको सहकार्यमा अभियानमार्फत लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिइरहेको छ ।

प्रहरीका अनुसार विश्वव्यापी समस्याको रूपमा रहेको लागूऔषध प्रयोग र कारोबार नेपालमा पनि जटिल बन्दै गएको छ । यसको प्रयोग बढेपछि सामाजिक, सांस्कृतिक, आर्थिक लगायत शान्ति सुरक्षामा समेत नकारात्मक प्रभाव परेको छ । यसैले विद्यमान कानुनको कार्यान्वयन गर्दै नेपाल प्रहरी लागूऔषध कारोबार र दुर्व्यसनी नियन्त्रण गर्न सक्रिय बनेको केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकाल बताउँछन् ।

उनका अनुसार लागूऔषध नियन्त्रण अभियानबाट पछिल्लो छ महिनामा मात्रै लागूऔषध प्रयोगकर्ता, कारोबारी र सम्बन्धित अपराधमा संलग्न ३ हजार ४५ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेकामध्ये २ हजार ७५८ जना नेपाली पुरुष, १४४ जना नेपाली महिला, १३३ जना विदेशी पुरूष र १० जना विदेशी महिला रहेका छन् । यीमध्ये १ हजार ९६० मुद्दा दर्ता भएका छन् ।

‘यस्तो अपराधमा संलग्नहरूलाई प्रहरीले अनुसन्धान, पक्राउ र कानुनी कारवाही गरिरहेको छ,’ प्रहरी प्रवक्तासमेत रहेका डीआइजी ढकालले भने, ‘लागूऔषधको प्रकोपबाट धेरै युवाहरू कुलतमा फसेर आफ्नो ऊर्जाशील व्यक्तित्व ह्रास भइरहेको वर्तमान परिप्रेक्ष्यमा यसको विरुद्ध सबै एकजुट हुन आवश्यक छ । यसको नियन्त्रणका लागि विद्यमान कानुनमा समयसापेक्ष परिमार्जनको साथै सरकारको एकल पहल मात्र नभई सबै क्षेत्रबाट पहल कदमी लिनुपर्ने देखिन्छ ।’

पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, पोल्याण्ड र अन्य नियन्त्रित औषधि जस्ता लागूऔषध सेवन गर्ने तथा यसको ओसारपसारमा संलग्न रहेका छन् । उनीहरूबाट गाँजा ८ हजार ३२० केजी, चरेस ३०८ केजी, हेरोइन १० केजी, अफिम २७ केजी, कोकिन ३ केजी र पोल्याण्ड ३२६ ग्राम बरामद गरेको प्रहरीले जनाएको छ ।

यसैगरी डाइजेपाम २३ हजार ५ एम्पुल, फेनारगन २७ हजार १३४ एम्पुल, ब्रुफिनुर्फिन १९ हजार ६७४ एम्पुल, लुपिजेसिक १ हजार ४१५ एम्पुल, नाईट्राभेट ६३ हजार ५४७ ट्याब्लेट, स्पास्मो ११ हजार ७२, कोरेक्स ६ हजार ५७१, एभिल ७०० ३३, ट्रामा ४६ हजार ५९, प्रोमिथाईजिन ४ हजार ७६२, अन्य एम्पुल ६ हजार ४८२, अन्य ट्याब्लेट १ हजार ५५८ र आइस २ ग्राम समेत बरामद भएको छ ।

साउनदेखि पुस मसान्तसम्मको तथ्यांक विश्लेषण गर्दा मधेस प्रदेशबाट सबैभन्दा धेरै लागूऔषध गाँजा ३ हजार ८९१ केजी बरामद भएको छ । सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा धेरै ६६ केजी चरेस बरामद भएको छ । कोशी प्रदेशबाट ५ केजी हेरोइन, लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै २० केजी अफिम तथा लागूऔषध नियन्त्रण ब्युरोबाट १ केजी कोकिन बरामद भएको छ । लागूऔषध सेवनले सेवनकर्तालाई मात्र नभई परिवार, समाज र देशलाई नै प्रत्यक्ष प्रभाव पारिरहेको छ । कालान्तरमा यसले परिवार, समाज र देशलाई नै नकारात्मक असर पार्छ ।

‘यस्तो लागूऔषधको उपयोग र कारोबारले राष्ट्रिय रुपमा राज्यको सम्पत्ति अनुत्पादक क्षेत्रमा खर्च भई राष्ट्रलाई ठूलो नोक्सान हुने तथा ऊर्जाशील जनशक्ति गलत बाटोमा लाग्दा राष्ट्रलाई दूरगामी प्रभाव पारिरहेको हुन्छ,’ डीआइजी ढकालले भने, ‘लागूऔषध कारोबार अन्तर्राष्ट्रिय समस्या हो । गलत मनसायका व्यक्तिहरूले अर्थोपार्जनको उद्देश्यले लागूऔषध ओसारपसार गरिरहेको देखिन्छ । आजकल नयाँ विधि र शैली अपनाई कारोबार हुने गरेको छ ।’

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार १०:४५

लोकप्रिय