सूचनाको शक्ति - The Power Of Information

        

गर्भवती प्रहरी अबदेखि छुट्टै पोसाकमा

प्रहरी सहायक निरीक्षक सुशीला भुसाल नौ महिनाकी गर्भवती छिन् । केही अघिसम्म प्रहरी पोसाकबिनै उनी कार्यालय जान्थिन् । अहिले भने उनी बेग्लै पोसाकमा कार्यालय जान्छिन् । नेपाल प्रहरीले गर्भवती प्रहरीका लागि छुट्टै पोसाक व्यवस्था गरेपछि उनी जस्ता धेरै गर्भवती प्रहरी नयाँ बर्दीमा ठाँटिएर कार्यालय पुग्ने गरेका छन् ।

गर्भावस्था आफैँमा महिलाका लागि जटिल अवस्था हो । गर्भभित्र हुर्कंदै गरेको शिशुको सुरक्षा र कार्यालयको कामको जिम्मेवारी पूरा गर्न महिला प्रहरीका लागि तोकिएको प्रहरी पोसाक सर्ट र पाइन्ट बाधक थियो । पाइन्टमा बेल्ट लगाउनु शिशुका लागि ठिक हुँदैन । छालाको बुट कसेर बाँध्ने गर्दा गर्भावस्थामा खुट्टा सुनिने, हिँड्न गाह्रो हुने गथ्र्यो ।

चिकित्सकले सजिला कपडा लगाउन सुझाव दिने गरेको सम्झँदै भुसालले भनिन्, ‘बस्न, निहुरिन, शौचालय जान र हिँडडुल गर्न सो पोसाकमा गर्भवती प्रहरीका लागि सहज थिएन ।’ अहिले पाएको पोसाक एकप्रकारले वरदान जस्तै बनेको उनी बताउँछिन् । गाउनको डिजाइनको सो पोसाकले लगाउन र काम गर्न सजिलो भएको अनुभव उनी जस्तै गर्भवती प्रहरी बताउछन् ।

महिला प्रहरी अनिता भुसालका अनुसार पनि हरेक महिना बढ्ने गर्भका कारण आफैँ नयाँ प्रहरी पोसाक सिलाएर लगाउन कठिन थियो । उनले भनिन्, ‘गर्भवती भएको जानकारी कार्यालयमा गराएपछि सहज हुने कपडा लगाएर आउनु भन्नुहुन्थ्यो, हामी त्यसै गथ्र्यौं ।’ अब गर्भवती हुने महिला प्रहरीका लागि पोसाककै कारण अप्ठ्यारा दिन सकिएको उनी सुनाउछिन् ।

नेपाल प्रहरीले गर्भवती महिलाका लागि नयाँ पोसाक निःशुल्क वितरण थालेको प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार सुरुवाती चरणमा ३७० जना गर्भवती प्रहरीलाई गर्भावस्था अनुकूलको पोसाक दिइएको छ ।

गर्भवती प्रहरी कर्मचारीलाई पोसाकका कारण काम गर्न गाह्रो भएको विषयलाई नेपाल प्रहरीले गम्भीरतासाथ मनन गरी विदेशको चलनचल्तीको पनि अध्ययन गरेर गर्भवती प्रहरीलाई छुट्टै पोसाक दिनुपर्ने निर्णय भएको हो । यसमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको सक्रियता रहेको बताइएको छ । मानिसले मानिस जन्माउने अवस्थालाई नेपाल प्रहरीले संवेदनशील अवस्था ठानेर त्यसका लागि हरसम्भव सहजीकरण अभियान थालेको हो ।

यस अवधारणालाई मूर्तरूप दिन प्रहरी प्रधान कार्यालयले छुट्टै कार्यविधि बनाएको छ । जसमार्फत पहिलो चरणमा वितरण गरिएको पोसाकसम्बन्धमा थप सुझाव लिइने छ । त्यसपछि आवश्यकता अनुसार परिमार्जन गर्दै गर्भवती प्रहरीका लागि दिइने पोसाकलाई अन्तिम रूप दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । सबइन्स्पेक्टर देवी दाहालका अनुसार पोसाक वितरण गर्नुअघि देशभरका महिला प्रहरीमध्ये कति गर्भवती छन् भनेर नामावली सङ्कलन गरी नाप लिएर सिलाई प्रदेशमा पठाइएको छ ।

वितरण गरिएका पोसाकका सवालमा सुझाव पनि प्रशस्त आएका छन् । जसमा सुरुवाती पहल राम्रो भएको भन्दै धेरै गर्भवती प्रहरीले सराहना गरेका छन् । गाउनसँगै लगाउने सर्ट भने नदिइँदा अप्ठेरो कायमै छ । कतिपय गर्भवतीले एक–दुई महिनाकै गर्भ हुँदा नापेको कपडाको पोसाक आउँदा लगाउन पाएका छैनन् । जुत्ता कुन लगाउने भन्ने तय भएको छैन र दिइएको पनि छैन । पोसाक सिलाउँदा ‘फ्रि साइज’को सिलाउन र दायाँबायाँ घटाउन बढाउन मिल्ने गरी सिलाउनुपर्नेमा गर्भवतीले जोड दिएका छन् ।

गर्भवती प्रहरीका लागि अन्य निजामती कर्मचारीले पाउने सुविधासरहको सुविधासँगै कार्य सहजतामा ध्यान दिइन्छ । दाहालका अनुसार गर्भावस्था सुरु भएपछि महिला प्रहरीले पहिलेजस्तो रातदिन खटिनु पर्दैन । गाह्रो उठबसका कार्य पनि लगाइँदैन । जटिल अवस्थाका गर्भवतीलाई हाजिर गरेर घरमै बसेर काम गर्न सकिने वातावरण दिइएको छ । प्रहरी श्रीमती सङ्घले उपत्यकाका महिला प्रहरीका लागि दिवा शिशु स्याहार केन्द्र सञ्चालन गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा सञ्चालित केन्द्रले महिनाको न्यूनतम दुई हजार पाँच सय शुल्क लिएर शिशु हेर्ने गरेको सुपरभाइजर प्रमिला थापाले बताइन् । कुल ३५ जनाको क्षमता रहेको शिशु स्याहार केन्द्रमा २७ जना महिला प्रहरीले बच्चा राख्ने गरेका छन् । कामका बिचमा केन्द्रको स्तनपान केन्द्रमै बसेर बच्चालाई दूध खुवाउने गर्छन् । जिल्लाका केही प्रहरी कार्यालयमा पनि स्तनपान केन्द्र राख्ने क्रम सुरु गरिएको छ । नेपाल प्रहरीको कुल ८० हजार जनशक्तिमध्ये सात हजारभन्दा बढी महिला प्रहरी छन् ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार ०८:०१

लोकप्रिय