सूचनाको शक्ति - The Power Of Information

        

मंगलबार किन गरिन्छ गणेशको पूजा ?

आज २०८० साल माघ २३ गते मंगलबार तदनुसार सन् २०२४ फेब्रुअरी ६ तारिख । एकादशी तिथि । आज धनमा चन्द्रमा छन् । माघ कृष्ण एकादशी षट्तिला एकादशी व्रत हो । आजको दिन सुरक्षित इन्टरनेट दिवससमेत परेको छ । मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ ।

कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ । मंगलबार भगवान श्री गणेशको सबैभन्दा प्रिय दिन मानिन्छ । सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले यस दिन भगवान श्रीगणेशको पूजा गर्नु उत्तम मानिन्छ । मंगलबार व्रत बसेर पूजा आराधना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ । जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा पर्दछन् । यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ । धर्मशास्त्रका अनुसार यी काम मंगलबार गर्दा हाम्रो जीवनमा समस्या बढ्न सक्छन् ।

मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने विश्वास छ । मङ्गलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु सेवन गर्नु हुँदैन । मङ्गलबारको दिन मदिरा सेवन गर्दा तपाईंको क्रोधमा वृद्धि हुन्छ । गणेशजीलाई सबैभन्दा बढी मन पर्ने भोजन लड्डु हो । यसबारे पद्मपुराणमा एउटा कथा छ,–

पूर्वकालमा पार्वतीदेवीलाई देवताहरूले अमृतले तयार पारिएको एउटा दिव्य लड्डु दिए । लड्डु देखेर कुमारजी र गणेशजीले मातासँग जिद्दी गरेर लड्डु माग्न थाले । तब माताले लड्डुको महत्वको वर्णन गरेर भनिन् कि तिमीहरु मध्ये जसले धर्माचरणद्वारा श्रेष्ठता प्राप्त गरेर सर्वप्रथम सबै तीर्थको जसले भ्रमण गरेर आउँछ म उसैलाई यो लड्डु दिन्छु ।

माताको यस्तो कुरा सुनेर कुमारले मयुरमा सवार भएर मुहूर्तभरमा सबै तीर्थको स्नान गरेर आए । यता गणेशजी भने आफ्नो वाहन मुसा भएका कारण तीर्थ भ्रमण गर्न असमर्थ भए । तब गणेशजीले श्रद्धापूर्वक मातापितालाई परिक्रमा गरेर पिताजीको अगाडि उभिए । यो देखेर माता पार्वतीले भनिन्, ‘सबै तीर्थमा गरेको स्नान, सबै देवतालाई गरेको नमस्कार, सबै यज्ञको अनुष्ठान तथा सबै प्रकारको व्रत, मन्त्र, योग र संयमको पालन यी सबै साधनाहरू मातापिताको पूजाको अंशको बराबर पनि हुन सक्दैन ।’

त्यसकारण गणेशजी सयौँ पुत्रहरू र सयौँ गणहरूभन्दा पनि धेरै छन् । त्यसैले उनलाई गणनायक पनि भनिन्छ । पार्वतीले सो लड्डु गणेशलाई अर्पण गरिन् । त्यसकारण यो लड्डुसँग मातापिताको भक्ति पनि जोडिएको छ । हामीले गणेश भगवानलाई लड्डु अर्पण गरेर चढाउँदा यो उहाँले गर्नुभएको मातापिताप्रतिको भक्ति भावलाई मनन गर्नु अत्यन्तै आवश्यक छ । उनको साथमा रहने लड्डु यसैको प्रतीक हो ।

‘ग’ को अर्थ बुद्धि र ‘ण’ को अर्थ ज्ञान हुन्छ । तसर्थ गणेश भगवान बुद्धि र ज्ञानका प्रतीक मानिन्छन् । भगवान गणेशको अर्को नाम ‘विघ्नेश्वर’ पनि हो । उनी सबै बिघ्नबाधाहरुको निवारक पनि हुन् । उनले सबै कार्यहरू निर्विघ्न गराउँछन् । भगवान गणेशको अर्को नाम ‘विनायक’ पनि हो विनायकको अर्थ अरु कोही नायक छैन, उ नै सर्वश्रेष्ठ नायक हो भन्ने बुझिन्छ ।

भगवान गणेश सबै शक्तिका श्रोत पनि मानिन्छन् । हुन त हाम्रा सबै देवीदेवताहरुमा दातापन छ तर गणेशजी मङ्गलदाता हुनुहुन्छ । गणेशजी हाम्रो सोच , चिन्तन, धारणा र व्यवहारमा यसकारण पूजनीय छ कि उनी गुणहरूको खानी छन् । उनमा सबै गुण र शक्तिहरू शोभायमान छ । उनी देवताहरूमध्ये गुणको देवता मानिन्छन् ।

भगवान गणेशको पूजा गर्दा जप्नुपर्ने मन्त्र

यी ११ मन्त्रहरू जप्दा गणेश भगवान् चाँडै प्रसन्न हुने र कृपाले जीवनमा सफलता मिल्ने विश्वास छ । १) श्री गणेशाय नमः २) ॐ श्री गणेशाय नमः ३) गं गणपतये नमः ४) ॐ गं गणपतये नमः ५) ॐ गं ॐ गणाधिपतये नमः ६) ॐ सिद्धि विनायकाय नमः ७) ॐ गजाननाय नमः ८) ॐ एकदंताय नमो नमः ९) ॐ लम्बोदराय नमः १०) ॐ वक्रतुंडाय नमो नमः ११) ॐ गणाध्यक्षाय नमः

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार ०७:४८

लोकप्रिय