सूचनाको शक्ति - The Power Of Information

        

एक हप्तादेखि अवरुद्ध त्रिभुुवन विश्वविद्यालयको वेबसाइट अझै खुलेन

 विद्यार्थीलाई अनलाइनबाट शैक्षिण प्रमाणपत्र उपलब्ध गराउने घोषणा गरेको त्रिभुुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट एक हप्तादेखि अवरुद्ध भएको छ ।

गएको माघ १५ गते अनलाइन सेवाको शुरुवात भएलगत्तै वेबसाइट ह्याक भएर अवरुद्ध भएको हो । कमजोर सुरक्षा प्रणाली रहेको भन्दै कक्षा १२ मा पढ्ने एकजना विद्यार्थीले वेबसाइट ह्याक गरेको स्वीकार गरेका छन् ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले सुरक्षासहितको वेबसाइट बनाउन लागिएको र आज भोलिमै सञ्चालनमा आउने बताएको छ । वेबसाइट सञ्चालनमा आएपछि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्याेग, प्रतिलिपि र करेक्सनलगायत सेवा अनलाइनबाट शुरु हुने त्रिविको भनाइ छ ।

अनलाइनबाट प्रक्रिया पुर्याएर आवेदन दिएका विद्यार्थीको आवश्यक कागजात अपुग भए अथवा अरु समस्या आए इमेल अथवा फोनमार्फत् विद्यार्थीलाई जानकारी दिइने र त्यसअनुसार फेरि आवेदन दिनुपर्ने विश्वविद्यालयले जनाएको छ ।

आवेदन अनुसार विद्यार्थीको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमार्फत वितरण गरिने र प्रमाणपत्र सङ्कलन गर्दा स्वयम् विद्यार्थी अथवा विद्यार्थीले इच्छाइएको व्यक्ति हुनुपर्ने विश्वविद्यालयले यसअघि नै निकालेको सूचनामा उल्लेख छ ।

परीक्षा समयमै नहुने, भएका परीक्षाको पनि मार्कसिट र अरु कागजात लिन विद्यार्थीले धेरै दुःख पाउनुपर्ने गुनासो बढेपछि त्रिविले अनलाइनबाट सेवा दिन लागेको हो । तर आवश्यक गोपनीयता तथा सुरक्षाको ख्याल नगरी वेबसाइट सञ्चालनमा ल्याउँदा अहिले समस्या देखिएको छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार ०९:५०

लोकप्रिय