सूचनाको शक्ति - The Power Of Information

        

क्रिकेट संघद्वारा आसन्न प्रतियोगिताहरुका लागि राष्ट्रिय टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंमा हुने क्यानडाविरूद्धको एकदिवसीय श्रृंखला तथा नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको ‘आइसिसी विश्वकप लिग–टु’ को लागि छुट्टा–छुट्टै राष्ट्रिय टिम घोषणा गरेको छ ।

यही माघ २५ देखि २९ गतेसम्म क्यानडाविरुद्ध तीन खेलको एकदिवसीय श्रृंखला हुनेछ । त्यसपछि नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच आइसिसी विश्वकप लिग–टु का खेलहरु हुनेछन् ।

लिग–टु का खेल फागुन ३ देखि १३ गतेसम्म चल्नेछ । क्यानडाविरुद्धको खेलका लगि यूथ नाइन्टिन टिमका कप्तान देव खनाल र अनिल साहले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।

यस्तै चोटका कारण यूथ नाइन्टिन विश्वकप गुमाएका हेमन्त धामी पनि राष्ट्रिय टिममा समावेश छन् । प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका रिजन ढकाल र सूर्य तामाङ तथा यूथ नाइन्टिन ले पनि क्याडनाविरुद्धको श्रृख्ांलाका लागि टिममा स्थान बनाएका छन् ।

यूथ नाइन्टिन टिमका तीव्र गतिका बलर आकास चन्द पनि राष्ट्रिय टिममा समेटिएका छन् । लिग टु का लागि पवन सर्राफ राष्ट्रिय टिममा फर्किएका छन् भने सूर्य तामाङ र रिजन ढकालले दुवै टिममा स्थान बनाएका छन् ।

बाँकी खेलाडीहरु पुरानै छन् । कप्तान रोहित पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, ललित राजवंशी र सोमपाल कामी दुवै टिममा छन् । करण केसी, दीपेन्द्रसिंह ऐरी र अर्जुन साउद लिग–टु मा मात्रै छन् ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार ०८:५८

लोकप्रिय