सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा नेपाल कल्चर फेस्टिवल गर्ने तयारी

देशभरिको कला र संस्कृतिलाई एउटै मञ्चबाट प्रस्तुत गर्ने उद्देश्यसाथ आगामी फागुन २४ र २५ गते नेपालगञ्जमा ‘नेपाल कल्चर फेस्टिवल’ आयोजना गरिनेभएको छ ।

अन्तरालको आयोजना र व्यवस्थापनमा हुने सो फेस्टिवलमा नेपाली मौलिक कला संस्कृति, गीत सङ्गीत, नाच, लोकबाजा, भेषभुषा, खाना, भाषा र हस्तकलाको प्रवर्द्धन तथा प्रचार प्रसार गरिने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनुभयो ।

उहाँका अनुसार सो फेस्टिवलमा सुदूरपश्चिमको देउडा नृत्य र गीतदेखि पूर्वी नेपालको लिम्बु संस्कृतिमा आधारित च्याब्रुङ नाच र पालामसम्म, तराइको थारु र अवधि नृत्य–गीतदेखि पहाडी क्षेत्रको पञ्चेबाजा तथा हिमालको शेर्पा संस्कृति झल्किने नृत्य, काठमाडौँ उपत्यकाको नेवार संस्कृतिमा आधारित धिमे बाजादेखि लाखे नाचसम्म एउटै स्टेजमा प्रस्तुत हुनेछ ।

त्यसका साथै फेस्टिवलमा भाषा र संस्कृतिका अध्येताहरू, गीत र नृत्यका अध्येताहरू र चाडपर्व, रीतिरिवाजका जानकारबिच छलफल र विचार विमर्श पनि गराइने शाहले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो नेपाली गीत–सङ्गीत, नृत्य, भेषभुषा र संस्कृति झल्काउने सम्भवतः नेपालकै ठुलो इभेन्ट हुने र बहुसांस्कृतिक, बहुभाषी संस्कृति रहेको हाम्रो देशमा सयाैँथरी नाच र गीत रहेकाले यसको प्रवर्द्धन अध्ययन अनुसन्धान गर्नु फेस्टिवलको उद्देश्य हुनेछ ।’

कतिपय परम्परागत बाजाहरू, भेषभुषाहरु र गहनाहरू लोपहुने अवस्थामा पुगेको, पुराना पुस्ताका गीतहरू नयाँ पुस्ताले नबुझ्ने स्थिति भएकाले सवैखाले संस्कृति र गीतसङ्गीतको साझा मञ्चको रूपमा फेस्टिवललाई बनाउन खोजिएको छ ।

नेपालगन्ज रङ्गशालामा आयोजना गरिने सो फेस्टिवलमा मनोरञ्जनात्मक कार्यक्रम पनि हुनेछ । जसमा शास्त्रीय सङ्गीतदेखि पछिल्लो पुस्ताको पप रकसम्मको प्रस्तुति रहने बताइएको छ । स्थानीय नवप्रतिभालाई विशेष प्राथमिकता दिइने फेस्टिवलमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका ब्यान्डदेखि चर्चित गायक गायिकाले आफ्नो प्रस्तुति दिनेछन् ।

‘देश भनेको भूगोल मात्र होइन, संस्कृति जोगिएन भने पहिचान मेटिँदै जान्छ, अन्तरालका कार्यकारी शाहले भन्नुभयो, ‘नेपाल कल्चर फेस्टिवलको अवसरमा नेपालगन्जमा सिङ्गो नेपाल झल्किनेछ ।’

प्रकाशित मिति : २१ माघ २०८०, आइतवार ०८:१९

लोकप्रिय