सूचनाको शक्ति - The Power Of Information

        

कैलाली र कञ्चनपुरको साढे पाँच हजार हेक्टरमा सिँचाइ

कैलाली र कञ्चनपुरमा डिप तथा स्यालो ट्युववेलमार्फत ५ हजार ४८७ हेक्टर जग्गामा बाह्रै महिनाका लागि सिँचाइ सुविधा उपलब्ध गराइएको छ । भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन विकास कार्यालयले दिएको जानकारी अनुसार पुरानो र प्रदेश संरचनापश्चात् अहिलेसम्म पाँच हजार ४८७ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराइएको हो ।

डिभिजन प्रमुख श्रवण खनालका अनुसार प्रदेश स्थापनापश्चात् कैलाली, कञ्चनपुर र डडेल्धुरामा गरी १४० डिप ट्युववेल जडान गरिएको छ । यी क्षेत्रमा अहिले बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध भएको उनको भनाइ छ । जडान गरिएका डिप ट्युववेलमध्ये ९१ चलिरहेका छन् भने अन्य संरचना निर्माणका क्रममा रहेको जनाइएको छ ।

विशेषगरी कुलो, नहर नभएको ठाउँमा र भएको ठाउँमा पनि बाह्रै महिना सिँचाइ उपलब्ध गराउने गरी किसानको खेतबारीमा डिप र स्यालो ट्युववेल जडान भएको उनले बताए । गत आर्थिक वर्षसम्म कैलाली र कञ्चनपुरमा एक हजार एक स्यालो ट्युववेल जडान गरिएकामा चालु आवदेखि स्यालो ट्युववेलका लागि बजेट विनियोजन नगरिएको डिभिजन प्रमुख खनालले बताए ।

स्यालो ट्युववेल जडानको कार्य स्थानीय तहलाई हस्तान्तरण गरिएकाले डिभिजन कार्यालयले त्यसका लागि बजेट विनियोजन नगरिएको जनाएको छ । स्यालो ट्युववेल जडानका लागि वित्तीय हस्तान्तरणअन्तर्गत १२ लाख रुपैयाँ बजेट स्थानीय तहलाई दिएको डिभिजन प्रमुख खनालले जानकारी दिए ।

कैलालीका १३ स्थानीय तहमध्ये गोदावरी नगरपालिकामा सात, गौरीगङ्गा नगरपालिकामा आठ, घोडाघोडी नगरपालिकामा आठ, लम्कीचुहा नगरपालिकामा एक, भजनी नगरपालिकामा तीन, धनगढी उपमहानगरपालिकामा दुई, बर्दगोरिया गाउँपालिकामा चार, कैलारी गाउँपालिकामा एक, जोशीपुरमा गाउँपालिकामा छ डिप ट्युववेल जडान गरिएको जनाइएको छ । अन्य डिप ट्युववेल कञ्चनपुर र डडेल्धुरामा जडान गरिएको जनाइएको छ ।

कैलालीको चुरे र मोहन्याल गाउँपालिकामा डिप ट्युववेल जडानका लागि अध्ययन भइरहेको सो कार्यालयले जनाएको छ । एक डिप ट्युववेल जडानका लागि झन्डै ८५ लाख रुपैयाँ खर्च लाग्ने गरेको जनाइएको छ । कैलाली, कञ्चनपुर र डडेल्धुरामा प्रदेश, प्रदेश पूर्वाधार र सङ्घ सशर्त अनुदानबाट डिप ट्युववेलका लागि बजेट विनियोजन हुँदै आएको डिभिजन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार ०९:०७

लोकप्रिय