सूचनाको शक्ति - The Power Of Information

        

साइकल यात्रुलाई मानसरोवर दर्शन गराइँदै

साइकल उत्सवको तयारी गर्दै आयोजक ।

नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गर्न लागेको नेपालगन्ज साइकल उत्सव टूर दि ठाकुरद्वाराको अवसरमा सहभागी हुन आउने विदेशी साइकल यात्रुलाई कैलाश मानसरोवरको दूरदर्शन गराउने योजना बनाइएको छ ।

नेपालगन्ज साइकल उत्सवका इभेन्ट डाइरेक्टर सतिश निरौलाले नेपालगन्ज साइकल उत्सवका विदेशी र स्वदेशी सहभागीलाई विशेष अफरसहित माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवरको दूरदर्शन गराउने बताए ।

उनले खेलकुदलाई पर्यटन विकाससँग जोड्दै पर्यटनको विकासका लागि प्रचार प्रसार गर्ने उद्देश्यले नेपालगन्ज साइकल उत्सव अन्तर्गत सहभागी हुनेहरुलाई २८ माघमा माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवरको दूरदर्शन गराउन सिद्धार्थ ग्रुपसँग सहकार्य गरिएको बताए ।

भारतबाट उल्लेख्य संख्यामा साइकलयात्री आउने निश्चित भएकाले कैलाश मानसरोवर दर्शनको प्रचार प्रसारका लागि यस खालको योजना बनाइएको डाइरेक्टर निरौलाले बताए ।

साइकल उत्सवमा सहभागी हुन आउने भारतीय साइकल यात्रुलाई हवाइजहाजबाट कैलाश मानसरोवरको दूरदर्शन गराउने योजना निकै सराहनीय रहेको जनाउँदै नेपालगन्ज पर्यटन प्रवद्र्धन मन्चका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले यसबाट भारतीय पर्यटक आकर्षित गर्न सहयोग पुग्ने बताए ।

उनले नेपालगन्ज लगायत पश्चिम नेपालका पर्यटन व्यवसायीको लामो प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवरको दूरदर्शनका लागि माउन्टेन फ्लाइट सुरु गरिएकोमा खुसी व्यक्त गर्दै यसले नेपालगन्जको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल ट्राभल्स एण्ड टुर एसोशियसन (नाटा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्जबाट कैलाश मानसरोवर दर्शनको उडान सफल भएकाले यस क्षेत्रको पर्यटनसँगै यहाँको आर्थिक गतिविधिमा महत्वपूर्ण उपलब्धि प्राप्त हुने बताए ।

श्री एअरले गरेको परीक्षण उडान सफल भएपछि अहिले मानसरोवर दर्शनका लागि बुकिङ्ग खुला गरिएको जानकारी श्री एअरलाइन्सले गराएको नाटा बाँकेले जनाएको छ । अब भारतका विभिन्न भागबाट ठुलो संख्यामा धार्मिक पर्यटक नेपालगन्ज आउने र केही दिन यहाँ बसेर माउन्टेन उडानमार्फत कैलाश मानसरोवरको दर्शन गर्ने हुँदा स्थानीय होटल व्यवसायीहरु उत्साहित भएका छन् ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार ०८:४०

लोकप्रिय