सूचनाको शक्ति - The Power Of Information

        

जुत्ता कारखानामा शेयर लगानीभन्दा जग्गा हत्याउने अरुण चौधरीको उद्देश्य !

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले व्यवसायी अरुण चौधरीको समूहको उद्देश्य बाँसबारी जुत्ता कारखानामा शेयरअनुसार लगानी गर्नेभन्दा जग्गा हत्याउने रहेको स्पष्टीकरण दिएको छ ।

बिहीबार पक्राउ परेकाहरुकोबारे शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिँदै सम्झौता अनुसार बाँसबारीको १० रोपनी जग्गा लिएपछि च्याम्पियन फुटवेयर कम्पनी नै बन्द भएको पाइएको सीआईबीले जनाएको छ ।

त्यो कम्पनीमा रहेको सरकारी शेयर अरुण चौधरीले नै किनेको भन्दै सीआइबीले भनेको छ, ‘सिङ्गो योजना जुत्ता कारखाना गरेर शेयर अनुसार लगानी गर्नेभन्दा पनि बाँसबारीका छालाजुत्ताको जग्गा लिने उद्देश्य देखिन्छ ।’

सीआइबीले बिहीबार व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायण थापासहित तीन जनालाई पक्राउ गरेको थियो । सोही विषयमा सीआइबीले जानकारी गराएको हो । यो प्रकरणमा तीन महिना लामो अनुसन्धान भएको सीआइबीले जनाएको छ ।

त्यसपछि बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा तीन जनालाई पक्राउ गरेको उसको भनाइ छ । सीआइबीका अनुसार थापाले १० भदौ २०४३ मा अरुण चौधरी समेत सञ्चालक रहेको च्याम्पियन फुटवेयर कम्पनी खोल्न प्रवर्द्धन सम्झौता भएको थियो ।

सम्झौताअनुसार जारी पुँजी ५० लाख रहेको त्यो कम्पनीमा अरुण चौधरी समूहको ५१ प्रतिशत, बाँसबारीको २५ प्रतिशत र सर्वसाधारणको २४ प्रतिशत शेयर हुनेपर्ने हो । तर १२ लाख ५० हजार लगानी गर्नुपर्ने छाला जुत्ताले २६ लाख बढी लगानी गरेको पाइएको छ । चौधरी समूहले ८ लाख मात्र लगानी गर्यो भने सर्वसाधारणको शेयर नै खुलाइएन ।

त्यसको लागि च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगको २५ प्रतिशत शेयर अरुण चौधरीले खरिद गरेको थियो । बाँसबारी छाला उद्योगले दिएको १० रोपनी जग्गामा सञ्चालन हुने भनिएको च्याम्पियन फुटवेयरमा प्रारम्भिक रूपमा चौधरी समूहको ५१ प्रतिशत, बाँसबारी छाला उद्योगको २५ प्रतिशत र २४ प्रतिशत शेयर सर्वसाधारणको रहने भनिएको थियो ।

बाँसबारी छाला उद्योगले आफ्नो नाममा रहेको १८ रोपनी ३ आना २ पैसा जग्गामध्ये १० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई दिएको थियो । प्रति रोपनी २ लाख ५० हजारको दरले बाँसबारी छाला उद्योगले कुल २६ लाख लगानी गरेको देखिएको र च्याम्पियन फुटवेयरको चुक्ता पुँजी ५० लाख मात्र देखिएको सीआइबीको दाबी छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार १७:४५

लोकप्रिय