सूचनाको शक्ति - The Power Of Information

        

बाँसबारी जग्गा काण्डमा अरु पनि समातिने सीआइबीको संकेत

तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा तीन जनालाई हिजो पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अन्य व्यक्ति पनि तानिन सक्ने जनाएको छ ।

१० रोपनी सरकारी जग्गा हडपेको आरोपमा हिजो अरुण चौधरी, चौधरी गु्रपद्वारा सञ्चालित चाँदबाग स्कुलका सञ्चालक सञ्जय ठाकुर र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापालाई सीआइबीले पक्राउ गरेको थियो ।

त्यसबारे जानकारी दिन आज आयोगित पत्रकार सम्मेलनमा घटनाको अनुसन्धान भइरहेकाले अरु व्यक्ति पनि समातिसक्ने प्रहरीले संकेत गरेको छ । सीआइबीका प्रवक्ता एवम् एसएसपी नवराज अधिकारीले कारखानाको जग्गा हिनामिना प्रकरणको अनुसन्धान पूरा गर्न तीन महिना लागेको उल्लेख गर्दै हचुवाका भरमा कसैलाई पक्राउ नगरिएको प्रष्ट पारे ।

तत्कालीन अध्यक्ष थापाले आफ्नै तजबिजीमा बाँसबारीको जग्गा चौधरीलाई सुम्पिएको प्रारम्भिक अनुसन्धानमा देखिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । ‘हामीले यस प्रकरणको अनुसन्धान पूरा गर्न तीन महिनाभन्दा धेरै समय लगायौँ,’ उनले भने, ‘यसको अनुसन्धान जारी रहन्छ । अनुसन्धान हुँदै जाँदा अरु व्यक्ति पनि तानिने सम्भावना छ ।’

सीआईबीका अनुसार २०३७ सालमा डिल्लीबजार मालपोत कार्यालयको निर्णयले कारखानाको नाममा जग्गाको स्रेस्ता कायम भएको थियो । सरकारको निर्णय बिना सञ्चालक समितिलाई समेत जग्गा बेच्ने अधिकार नभएको अवस्थामा कानुन विपरित २०४३ भदौ १० गते तत्कालीन कार्यकारी निर्देशक थापाले चौधरीको च्याम्पियन फुटवेयर लिमिटेड नामको कम्पनीलाई उक्त जग्गा दिइएको पाइएको छ ।

कारखानाको नाममा रहेको १८ रोपनी ३ आना २ पैसा जग्गाबाट १० रोपनीको हक हस्तान्तरण गरि च्याम्पियन फुटवेयरको जारी पुँजी ५० लाख रहेकोमा २५ प्रतिशत शेयर लिने गरी तत्कालिन सञ्चालक समितिले निर्णय गरेको पनि सीआइबीले बताएको छ ।

सम्झौताबमोजिम कारखानाले १२ लाख ५० हजार लगानी गर्नुपर्नेमा २६ लाख २७८ लगानी गरेर सरकारलाई नोक्सान पुर्याएकाले साविक मुलुकी ऐन २०२० को किर्ते कागज र ठगीको महललाई निरन्तरता दिएको मुलुकी अपराध संहिता २०७४ को दफा २४९ र २७६ बमोजिमको कसूर अनुसन्धानका लागि अरुण, थापा र ठाकुरलाई पक्राउ गरेको सीआइबीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार १७:३४

लोकप्रिय