सूचनाको शक्ति - The Power Of Information

        

राप्ती नदीमा छाडियो १० वटा घडियाल गोही

राप्ती नदीमा गोही घडियाल छोड्दै लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी लगायत ।

बाँकेस्थित राप्ती नदीमा १० वटा घडियाल गोही छाडिएको छ । विश्व सिमसार दिवसका अवसरमा बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले शुक्रबार आयोजना गरेको एक कार्यक्रमका बीच राप्ती सोनारी गाउँपालिका १ स्थित राप्ती नदीको कुसुम बैरिया–भम्का जोड्ने घाटमा एउटा भालेसहित १० वटा गोही छाडिएको हो ।

लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसीले नदीमा गोही छोड्दै नदीमा छोडिएका गोहीको संरक्षणका उपाय खोजिनुपर्नेमा जोड दिइन् । उनले वातावरणीय सन्तुलन र जलवायु स्थिरता कायम राख्न घडियाल गोहीको भूमिका अतिनै महत्वपूर्ण हुने बताए । सो अवसरमा मन्त्री केसीले राप्ती नदी आसपासको बस्ती त्यहाँको संस्कृति र त्यसको वरिपरिको धार्मिक र पर्यटकीय गन्तव्यलाई समेटेर पर्यटकीय सर्किट बनाउन पहल गर्नुपर्नेमा जोड दिए ।

सोही अवसरमा बोल्दै वन तथा वातावरण मन्त्रालयका उपसचिव लक्ष्मण पौडेलले गोही र घडियाल घट्दै गएकोले वातावरणमा समस्या पर्ने हुँदा सो का लागिनै घडियाल नदीमा छोडिएको बताए । होमस्टे महासंघका महासचिव कृष्ण चौधरीले यस क्षेत्रमा बालुवा चोरेर सुन खोज्ने तथा माछा मारेर जिविका चलाउनेको बसोबास धेरै रहेकोले यस क्षेत्रलाई होमस्टेसहितको पर्यटकीय क्षेत्र बनाउनुपर्ने माग गरे ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा रहेको गोही प्रजनन केन्द्रबाट ती गोही ल्याइएको थियो । बाँके राष्ट्रिय निकुञ्जले गत वर्ष राप्ती नदीमा १० वटा घडियाल गोही छाडेको थियो ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार १७:२०

लोकप्रिय