सूचनाको शक्ति - The Power Of Information

        

लामो समयपछि वर्षा हुँदा किसान खुसी

गत असोजमा मनसुन बहिरिएपछि पहिलो पटक सुदूरपश्चिम प्रदेशमा भएको वर्षाले किसान खुसी भएका छन् । लामो समयपछि वर्षा भएकाले बाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।

कैलालीका किसान रामबहादुर चौधरीले भने, ‘वर्षा नहुँदा देखिएको सुक्खा मौसमले किसानलाई समस्या थियो । अहिले वर्षा भएसँगै गहुँ, मसुरो, तरकारी, फलफूल लगायत हिउँदे खेतीका लागि राम्रो भएको छ ।’

किसान जागुराम रानाले वर्षाले सिँचाइ सुविधाको अभाव झेलिरहेका किसानलाई ठूलो राहत मिलेको बताए । बुधबार रातिदेखि बिहीबार अपराह्नसम्म कैलालीमा १४ दशमलव दुई मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जयकुमार साहले जानकारी दिए ।

‘गत असोज अन्तिमतिर प्रदेशबाट मनसुनी वर्षा बाहिरिएपछि पहिलो पटक बुधबार र बिहीबार वर्षा भएको छ । यसले हिउँदे बालीका लागि अनुकूल प्रभाव परेको छ,’ उनले भने, ‘वर्षाले मानव स्वास्थ्यका लागि वायुमण्डलमा रहेको अस्वथ्यकर हावालाई पनि सफा बनाएको छ ।’ पश्चिमी वायुको प्रभावस्वरुप वर्षा भएको साहले बताए ।

पानी पार्ने प्रणाली बिहीबार साँझबाट विस्तारै कमजोर हुँदै गएको उनको भनाइ थियो । यस वर्ष गत पुस पहिलो हप्तादेखि झण्डै ३५ दिनसम्म बाक्लो हुस्सु र कुहिरोसँगै निरन्तर चलेको शीतलहरले जनवीवन कष्टकर बनेको थियो । शीतलहरसँगै यही माघ ११ गते एक दशकयताकै सबैभन्दा कम तापक्रम एक दशमलव आठ डिग्रीसेल्सियस मापन गरिएको थियो ।

पछिल्लो पाँच दिनदेखि शीतलहरको समस्या हटेर घाम लाग्न थालेकोमा बुधबार र बिहीबार हिउँदे वर्षा भएको हो । वर्षासँगै सुदूरपश्चिम प्रदेशका बाजुरा, बैतडी, दार्चुलाका हिमाली र उच्च पहाडी भेकमा हिमपात भएको छ । वर्षा र हिमपातले सिँचाइको अभावमा हुर्कन नपाएका पहाडी भेकका बालीलाई फाइदा पुर्याएको छ । हिमपातसँगै पहाडी र हिमाली क्षेत्रमा चिसो बढेको छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार १६:५८

लोकप्रिय