सूचनाको शक्ति - The Power Of Information

        

२२ वर्षपछि उठ्यो दरबार हत्याकाण्डको प्रसंग, साँच्चै छानबिन होला ?

नारायणहिटी दरबार हत्याकाण्ड भएको २२ वर्ष पुगिसकेको छ । वि.स. ०५८ जेठ १९ गते राति दरबारमा हत्याकाण्ड भएको थियो । राजदरबारको अति सुरक्षित स्थलमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र लगायत परिवारका अन्य सदस्यको हत्या भएको थियो । सो काण्डको चित्तबुझ्दो तथ्य अझै पनि जनतासमक्ष आउन सकेको छैन ।

दरबार हत्या प्रकरण अहिले पनि आम नेपालीले बिर्सिन नसक्ने घटनाको रूपमा दर्ज छ । यस प्रकरणमा विभिन्न तर्क पेस भए पनि हत्याको चुरो अहिलेसम्म सुल्झिन सकेको छैन । उक्त हत्याकाण्डबारे फेरि चर्चा सुरु भएको छ । दरबार हत्याकाण्डबारे पूर्वराजा ज्ञानेन्द्रदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नयाँ बहस सुरु गराइदिएका हुन् ।

रहस्यमयी दरबार हत्या प्रकरणमा तत्कालीन राजसंस्थाले गरेको अनुसन्धान पनि विश्वसनीय बन्न नसक्दा यो विषय थप रहस्यमयी बनिरहेको छ । यस्तोमा धेरैले दरबार हत्या प्रकरणमा पूर्वराजा शाहलाई जोडेर हेर्ने र उनीमाथि आक्षेप लगाउने गरेको पाइन्छ । पूर्वराजा शाहले दरबार हत्या प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको र जबरजस्त जोड्न खोजिएको बताएका छन् ।

गत शनिबार वीरगञ्ज पुगेका पूर्वराजा शाह भने, ‘२०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन पनि मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको थियो । हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए । सत्य सधैँ सत्य हुन्छ, असत्यको विजयी कहिल्यै हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शी हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिइरहेको छौँ । यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि हो ।’

ज्ञानेन्द्रको बोलीसँगै इतिहास बनिसकेको एउटा पुस्ताले लगभग बिर्सिसकेको दरबार हत्याकाण्ड २२ वर्षपछि फेरि बहसमा आएको छ । ज्ञानेन्द्रले दरबार हत्याकाण्डको कुरा उठाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष ओलीले कडा प्रतिवाद गरेका छन् । ओलीले दरबार हत्याको मुख्य योजनाकार दीपेन्द्रलाई मानिएको तथ्यलाई ठाडै अस्वीकार गरेका छन् ।

दरबार हत्यकाणबारे ज्ञानेन्द्रको अभिव्यक्ति आएको भोलिपल्ट अर्थात् आइतबार फिल्म ‘नमेटिने घाउ’को पत्रकार सम्मेलनमा ओलीले भने, ‘दीपेन्द्रले दरबार हत्याकाण्ड गर्यो भनेर यस्ता वाहियात कुराका पछाडि पनि नेपाली जनता कुद्नुहुन्छ ?’ दरबार हत्याकाण्डबारे ओली पछि प्रधानमन्त्री प्रचण्डले पनि मुख खोलेका छन् । सोमवार पर्सामा सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्रीले दरबार हत्या प्रकरणलाई छानबिनको दायरामा ल्याउने बताए ।

उनले भनेका छन्, ‘पूर्वराजा (ज्ञानेन्द्र शाह)ले जे बोलेका छन्, बोल्नै नहुने कुरा बोलेका छन् । दरबार हत्याकाण्डबारे फेरि एकचोटी छानबिनतिर सरकार अगाडि बढ्दैछ ।’ प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्ति पछि यो विषय थप चर्चा र चासोमा देखिन पुगेको छ । सरकारले यस्तो हत्या प्रकरणको अनुसन्धान निष्पक्ष ढङ्गले गर्ला ? वंश नै नास हुने गरी भएको दर्दनाक घटनामा सरकारले छानबिनको हिम्मत गर्ला ? प्रश्न धेरै नै जटिल देखिन्छ । तर पनि प्रधानमन्त्री प्रचण्डले दरबार हत्या प्रकरणको अनुसन्धान गरिने दाबी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले २०८० जेठ ४ गते पनि दरबार हत्याकाण्ड छानबिनको कुरा गरेका थिए । २०८० जेठ ४ गते प्रतिनिधि सभा बैठकमा सांसद प्रभु साहले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘विगतका सबै बीभत्स र भयानक हत्याकाण्डहरूको नयाँ शिराबाट छानबिन हुनुपर्दछ । चाहे त्यो गौरको केस होस्, चाहे त्यो भयानक दरबार हत्याकाण्ड । नेपालको इतिहासकै सबैभन्दा बीभत्स हत्याकाण्डको पनि नयाँ शिराबाट छानबिन हुनुपर्दछ ।’

दोस्रो पटक प्रधानमन्त्री भएको समयमा (२०७३ पुस ९ गते) पनि उनले दाङको घोराही पुगेर उच्चस्तरीय आयोग बनाई दरबार हत्याकाण्ड छानबिन गर्ने बताएका थिए । उनले भनेका थिए, ‘मैले पहिलो पटक प्रधानमन्त्री हुने बेला नै दरबार हत्याकाण्डको छानबिन हुनुपर्छ भनेको हुँ, नारायणहिटी सर्वसाधारणका लागि खुला गर्ने क्रममा मैले जुन अभिव्यक्ति दिएको थिएँ, त्यहीअनुसार सरकारले यो हत्याकाण्डको पनि उच्चस्तरीय आयोग बनाएर छानबिन गर्छ ।’

त्यसअघि २०६५ फागुन १४ गते नारायणहिटी दरबार सङ्ग्रहालयको उद्घाटनका दिन पनि प्रचण्डले दरबार हत्याकाण्ड छानबिनको कुरा गरेका थिए । उनले भनेका थिए, ‘स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारको हत्याको छानबिन सरकारले गर्छ ।’ बारम्बार यसबारे गर्ने भनेपनि कसैले हिम्मत गरेर यो फाइल खोल्ने प्रयास गरेको देखिँदैन । इतिहासको गर्भमा रहेको विषय खोतल्नु सामान्य विषय पक्कै होइन । यो विषयमा प्रचण्ड सरकारले छानबिन गर्ने हिम्मत गरेमा यसले ठूलो तरङ्ग पैदा गर्नेमा कुनै आशङ्का छैन ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार १६:२३

लोकप्रिय