सूचनाको शक्ति - The Power Of Information

        

आज कहाँ-कहाँ पर्छ पानी ?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।

लुम्बिनी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेश प्रदेशका साथै कोशी प्रदेशका तराई भूभागमा हुस्सु लागेको छ । दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका केही स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राती भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूका साथै बाँकी पहाडी भूभागका केही स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

तराईका अधिकांश स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवामा प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार ०९:३८

लोकप्रिय