जाजरकोट भूकम्पले क्षति पुर्याएको तीन महिना बितिसक्दा पनि पीडितले अझै अस्थायी आवास पाएका छैनन् । त्रिपालकै बसोबासले कतिपय भूकम्पपीडित बिरामीसमेत बनेका छन् । चिसोका कारण जाजरकोटमा ३१ जना र रुकुमपश्चिममा पाँच गरी ३६ जनाको मृत्यु भइसकेको छ ।
त्रिपालमुनि भुइँको चिसो र शीतले सुत्केरी महिला, बालबालिका र दीर्घरोगी वृद्धवृद्धा समस्यामा परेका छन् । उनीहरूले आगो तापेर रात कटाउने गरेका छन् । बारेकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते मध्यरातमा गएको ६.४ रेक्टरको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा मानवीय र भौतिक क्षति पुगेको थियो । भेरी नगरपालिका–१ की विर्मी खत्रीले भूकम्पबाट घर भत्किएपछि त्रिपालमुनि चिसो मौसममा रात बिताउनु परेको बताइन् ।
जिल्लाका सात पालिकामा ४२ हजार ५२४ जना लाभग्राही छन् । २९ हजार ३२३ लाभग्राहीले पहिलो किस्ता रकमका लागि सम्झौता गरेका छन् । तिनमा २८ हजार ३७६ लाभग्राहीले अस्थायी आवासको पहिलो किस्ता पाएका छन् । १४ हजार १४८ लाभग्राहीले अस्थायी आवासको रकम नपाउँदा अझै पनि त्रिपालमुनि रात बिताउनुपरेको छ ।
जिल्ला विपत् व्यवस्थापन कोषबाट एक अर्ब तीन करोड ४१ लाख ७५ हजार रुपैयाँ गाउँ तथा नगरपालिकाको विपत् व्यवस्थापन कोषमा जम्मा भएको रकममध्ये ७० करोड ९४ लाख अस्थायी आवास निर्माणका लागि वितरण गरिएको छ । सरकारको अनुदान सहयोगबाट १२ हजार ४९६ र अन्य सहयोगी दाताबाट ५२२ अस्थायी आवास निर्माण भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले बताए ।
अहिलेसम्म १० हजार अस्थायी आवास निर्माण भएका छन् । भूकम्पपीडितका लागि थप अस्थायी आवास निर्माण कार्य कछुवा गतिमा रहेको स्थानीयको गुनासो छ । भेरी नगरपालिका–१, चौर रावतगाउँमा १०० अस्थायी आवाससहित शौचालय निर्माणको जिम्मा डिसिए नेपालको आर्थिक सहयोगमा सोसेकले लिएको बताइन्छ । हालसम्म ५० वटा अस्थायी आवास निर्माण भइरहेको बताइन्छ । १० वटा अस्थायी आवास पीडितलाई हस्तान्तरण गरिएको र बाँकी अस्थायी आवास र शौचालय निर्माणका क्रममा रहेको जनाइएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । जाजरकोट