सूचनाको शक्ति - The Power Of Information

        

६ महिनामा विदेशबाट बाकसमा फर्किए ६५६ युवा

विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको छ भनिरहँदा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ६५६ युवाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन् । यो संख्या ६ महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो ।

यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउने अझै धेरै होलान् । बोर्डका अनुसार पछिल्ला ६ महिनामा बोर्डको कल्याणकारी कोषबाट ३७ करोड पाँच लाख रुपैयाँ मृतक श्रमिकका परिवारले आर्थिक सहायता लिइसकेका छन् ।

पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो संख्यामा नेपाली श्रमिक मृत्यु हुने गरेका छन् । तथ्यांक अनुसार औसतमा दैनिक पाँच वटा शव काठको बन्द बाकस विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् । बोर्डका अनुसार आव २०६५–०६६ साउनदेखि चालु आवको २०८०–०८१ को पुस महिनासम्म १३ हजार ७७ जनाले ज्यान गुमाएका छन् ।

यो संख्या बोर्डको सचिवालयबाट आर्थिक सहायता रकम लिनेको मात्रै हो । यस अवधिमा मलेसियामा सबैभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको छ महिनामा तीन लाख ५० हजार वैदेशिक रोजगारीमा गएकामध्ये ६५६ नेपाली श्रमिकले ज्यान गुमाएका छन् । सो अवधिमा करिब सात खर्ब विप्रेषण भित्रिएको हिसाबमा देखिन्छ ।

राहत लिनेको संख्या बढ्दो

चालु आवको छ महिनामा वैदेशिक रोजगारीमा मृत्यु र अङ्गभङ्ग भएर आर्थिक सहायता लिने श्रमिकको संख्या गत वर्षको तुलनामा ६ प्रतिशतले बढेको छ । बोर्डका अनुसार यस अवधिमा ३०७ जना अङ्गभङ्ग तथा बिरामी भएर स्वदेश फर्किएका थिए । गत आवको साउनदेखि पुससम्म ११५ श्रमिक अङ्गभङ्ग तथा बिरामी भएर फर्किएका थिए ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा.द्वारिका उप्रेतीले स्थानीय तह र विदेशस्थित नेपाली दूतावास वैदेशिक रोजगारीका क्रम हुने घाइते वा अङ्गभङ्ग भएकाले पाउने आर्थिक सहायताको जानकारी बढ्दै गएसँगै सहायता लिनेको संख्या पछिल्लो पटक बढेको बताए । बोर्डका अनुसार चालु आवको छ महिनामा विभिन्न ६ शीर्षकमा ५० करोड पाँच लाख ९८ हजार रुपियाँ कल्याणकारी कार्यमा खर्च गरेको छ ।

सबैभन्दा बढी ३७ करोड पाँच लाख मृतक श्रमिकका परिवारलाई आर्थिक सहायता शिर्षकमा वितरण गरिएको छ । वैदेशिक रोजगार बोर्डले सार्वजानिक गरेको तथ्यांक अनुसार चालु आवको साउनदेखि पुससम्म रोजगारीकै क्रममा ६५६ नेपालीले मृत्युवरण गरेका थिए भने ३०७ जना अङ्गभङ्ग तथा बिरामी भएर स्वदेश फर्किएका थिए । गत आवको साउनदेखि पुससम्म ११५ श्रमिक अङ्गभङ्ग भएको थियो ।

मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम पाउने मापदण्डको दायरा फराकिलो भएसँगै आर्थिक सहायता लिनेको संख्या वृद्धि भएको बोर्डका कार्यकारी निर्देशक उप्रेतीको भनाइ छ । बोर्डले आर्थिक सहायता र अन्य सामाजिक कार्यका लागि दिँदै आएको सेवा अनलाइनमार्फत गरेसँगै सेवाग्राही संख्या बढेर सहयोग रकम पनि बढेको खबर आजको गोरखापत्रमा प्रकाशित छ ।

मृत्युको कारण

वैदेशिक रोजगारीका क्रममा अधिकांशको मुत्युको कारण कार्यस्थलमा दुर्घटना र सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । कतिपय नेपालीले सुतेकै ठाउँमा विविध कारणले मृत्युवरण गर्ने गरेका छन् । सडक दुर्घटना, प्राकृतिक मृत्यु र आत्महत्याको संख्या बढ्न थालेको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार ०७:४६

लोकप्रिय