सूचनाको शक्ति - The Power Of Information

        

नेपाली चिकित्सककै नेतृत्वमा नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण

नेपालमै पहिलोपटक नेपाली चिकित्सककै नेतृत्वमा कलेजो प्रत्यारोपण गरिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा नेपाली चिकित्सकसहितको टिमले पहिलो पटक कलेजो प्रत्यारोपण गरेका हुन् । त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीको नेतृत्वमा रहेको टोलीले विदेशी चिकित्सकहरुको सहयोगबिना पहिलो पटक प्रत्यारोपण गरेका हुन् ।

यसअघिका प्रत्यारोपणमा विदेशबाट आएका चिकित्सकहरुकोले सघाउँदै आइरहेका थिए । डा भण्डारीका अनुसार नेपाली चिकित्सकहरुको टिमले २७ पुसमा नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरेको थियो । ती पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन् । कलेजो प्रत्यारोपण गरिएका पुरुषको स्वास्थ्य राम्रो रहेको डा भण्डारीले जानकारी दिए । उनका अनुसार ती पुरुषलाई बिहीबार डिस्चार्ज गरिने छ ।

कलेजो दान गरेकी मिहलाको भने १० दिन अगाडि नै डिस्चार्ज भइसकेको छ । प्रत्यारोपणका विषयमा जानकारी दिँदै डा भण्डारीले भने ‘यो हाम्रा लागि ऐतिहासिक क्षण हो । नेपालको कलेजो प्रत्यारोपण क्षेत्रमा यो ठूलो माइलस्टोन हो । यसलाई हामीले कलेजो प्रत्यारोपणमा आत्मनिर्भरतातर्फको पहिलो पाइलका रुपमा लिएका छौं ।’ डा भण्डारीले यो उपलब्धिमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीदेखि कर्मचारीहरुको ठूलो साथ र सहयोग रहेको बताए ।

उनले अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सुरु गर्नका लागि तत्कालिनक स्वास्थ्यमन्त्री गगनकुमार थापाले गरेको सहयोगको पनि खुलेर प्रशंसा गरे । ‘त्रिवि शिक्षण अस्पतालका सम्पूर्ण टिमको साथ र सहयोगसँगै तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाले गरेको सहयोगका कारण नै आज यो उपलब्धि हासिल भएको हो,’ उनले भने ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार ०७:४१

लोकप्रिय