सूचनाको शक्ति - The Power Of Information

        

दर्ता नभएका पसल बन्द गराउँदै कोहलपुर नगरपालिका

बाँकेको कोहलपुर नगरपालिकाले दर्ता नभएका तथा मापदण्ड विपरीतका पसल व्यवसाय बन्द गराउन थालेको छ ।

कोहलपुर नगरपालिकाले हरेक वर्ष नगरपालिकामा दर्ता पक्रियामा आउने भनी जानकारी दिँदा समेत अटेरी गरेर सञ्चालनमा रहेका पसल तथा अन्य व्यवसायहरूलाई बन्द गर्ने अभियान सुरु गरेको बजार अनुगमन समिति कोहलपुरका संयोजक अग्निप्रसाद आचार्यले बताउनुभयो ।

उहाँले बजार अनुगमनका क्रममा एन टिभी रोडमा दर्ता बिना सञ्चालन भएको महेर बुटिक तथा सिलाई कटाइ प्रशिक्षण केन्द्रलाई बन्द गरिएको र तत्कालै दर्ता प्रक्रियामा जान समेत निर्देशन दिएको जनाउँदै दर्ता नभएका अन्यलाई पनि सोही प्रकारले गरिने बताउनुभयो ।

कोहलपुर नगरपालिका भित्र सञ्चालन भएका तर दर्ता नभएका पसललाई सात दिन भित्र दर्ता पक्रियामा नआएमा बन्द गरी कारबाही प्रक्रिया सुरु गर्ने समितिका संयोजक आचार्यले बताउनुभयो ।

नगरमा सञ्चालित पसल तथा विभिन्न व्यवसाय दर्ता भए नभएको, अन्य मापदण्ड पुरा गरेको वा नगरेको, खाद्यान्न र अन्य वस्तुमा मिसावट गरेको वा नगरेको तथा म्याद नाघेका वस्तुको विक्री गरेको वा नगरेको बारेमा पत्ता लगाउने उद्देश्यले बजार अनुगमन निरन्तर जारी रहेको नगरपालिकाले जनाएको छ ।

कोहलपुरमा जारी रहेको बजार अनुगमनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख विष्णुप्रसाद धिताल, सोही कार्यालयका नायब सुब्बा देवीलाल चौलागाईँ, कोहलपुर उद्योग वाणिज्य सङ्घका प्रतिनिधि पवित्रा ढकाल, उपभोक्ता हित संरक्षण मन्च कोहलपुरका विष्णुप्रसाद बेल्बासे र पत्रकार लगायतको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार १८:१९

लोकप्रिय