सूचनाको शक्ति - The Power Of Information

        

पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानलाई थप १४ वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उहाँकी श्रीमती बुशरा बीबीलाई अदालतले भ्रष्टाचारको मुद्दामा १४ वर्षको कैद सजाय सुनाएको छ ।

सार्वजनिक पदमा रहँदा पाएका उपहारहरू बेचेको आरोपमा अदालतले खान दम्पतीलाई १४ वर्षको जेल सजाय तोकेको हो । राज्यको गोप्य सूचना चुहाएको आरोपमा अदालतले हिजो मात्रै इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई १० वर्षको कैद सजाय सुनाएको थियो ।

सन् २०२२ मा विश्वासको मत पाउन नसकेपछि इमरान खान प्रधानमन्त्री पदबाट हट्नुपरेको थियो । इमरान खानले आफूविरुद्ध लगाइएका मुद्दा राजनीतिक उद्देश्यबाट प्रेरित भएको बताउँदै आउनुभएको छ ।

पाकिस्तानमा यही फेब्रुअरी ८ मा आमचुनाव हुँदैछ । त्यसअघि इमरान खानलाई सजाय सुनाइएको हो । उहाँलाई चुनावमा प्रतिस्पर्धा गर्न यसअघि नै रोक लागेको छ ।

इमरान खान गएको वर्षको अगस्टमा पक्राउ परेपछि उहाँलाई जेलमा राखिएको छ । प्रधानमन्त्री हुँदा प्राप्त भएको उपहारलाई इमरान खान र उहाँकी श्रीमतीले आफ्नो फाइदाका लागि बेचेको आरोप छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार १५:३६

लोकप्रिय