सूचनाको शक्ति - The Power Of Information

        

पश्चिमी वायुसँगै सिर्जना

पश्चिमी वायु नेपाल प्रवेशसँगै ‘झन् चिसो’, तराइमा बर्षाको सम्भावना न्यून

‘सामान्यतः पश्चिमी वायु यतिखेरसम्म नेपालमा प्रवेश गरेर राम्रै पानी पारिसक्थ्यो । गत सालसमेत त्यस्तो भएको थिएन । ओस एकदमै कम छ, त्यसैले तराइतिर पानी पर्ने सम्भावना एकदमै कम छ ।’

नेपालमा पश्चिमी वायुसँगै सिर्जना भएका न्यून चापीय प्रणालीका कारण खासगरी पश्चिम नेपालमा वर्षा र हिमपातको क्रम देखा पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अधिकारीहरूले बताएका छन् । पूर्वी तथा मध्य पहाडी क्षेत्रमा समेत छिटफुट वर्षा हुन सक्ने भए पनि पूर्वी तराईका कोशी र मधेस प्रदेशमा त्यसको असर देखिने सम्भावना नरहेको उनीहरूको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारी यो नियमित मौसमी प्रक्रिया भए पनि यस पटक कमै न्यून चापीय प्रणाली देखा परेको बताउँछन् । ‘मौसममा हलचल आउनका लागि धेरै न्यून चापीय प्रणालीहरू आवश्यक पर्छ । वर्षाका दृष्टिले यसले केही ठाउँमा मात्र फाट्टफुट्टदेखि हल्का वर्षा गराउने सम्भावना छ,’ उनी भन्छन्, ‘तर उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात गराउने सम्भावना छ ।’

नेपालमा मनसुनी वायु बर्सेनि चार महिनाजति पूर्वतिरबाट पश्चिमतर्फ बहने क्रम पाइन्छ भने बाँकी आठ महिना पश्चिमी वायुको प्रभाव रहने गरेको छ । यो वर्षको हिउँदको एक महिना जति मात्र समय बाँकी रहँदा हिउँदे वर्षा सरदर भन्दा कम नै पाइएको अधिकारीहरू बताउँछन् । हिउँदे खडेरीको रूपमा कतिपयले अहिलेको अवस्थालाई हेरेका छन् । एक जना विज्ञले बुधवारदेखिको मौसमी प्रवृत्तिले त्यसमा ‘खासै राहत नदिने’ बताउँछन् ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभाग प्रमुख प्राध्यापक दीपक अर्याल भन्छन्, ‘सामान्यतः पश्चिमी वायु यतिखेरसम्म नेपालमा प्रवेश गरेर राम्रै पानी पारिसक्थ्यो । गत सालसमेत त्यस्तो भएको थिएन । ओस एकदमै कम छ, त्यसैले तराइतिर पानी पर्ने सम्भावना एकदमै कम छ ।’

प्रभाव कस्तो पर्ला ?

मौसममा अस्थिरता देखा परेसँगै हुने गतिविधिले ‘हुस्सु तथा कुहिरो कम हुने, छिट्टै हट्ने र केही स्थानमा मात्र रहने’ सम्भावना हुने मौसमविद् अधिकारी बताउँछन् । खासगरी तराईमा मौसम नखुल्दा जनजीवन कष्टकर हुनुका साथै हवाई उडानहरू समेत उल्लेख्य सङ्ख्यामा प्रभावित हुने गरेकाले यस मौसमी गतिविधिले त्यहाँ राहत पुग्न सक्ने ठानिएको छ ।

एक किलोमिटर भन्दा कम पारदर्शी हुँदा कुहिरो र एकदेखि पाँच किलोमिटरसम्म पारदर्शी हुने अवस्थालाई हुस्सु भनिन्छ । शितलहर समेत अर्को समस्या रहेकाले केही दिनमा त्यस अवस्था समेत फेर्न यस पश्चिमी वायुले सघाउने मौसमविद्हरू बताउँछन् । ‘त्यसबाहेक प्रदूषण समेत कम हुने सम्भावना रहन्छ,’ सञ्जीव अधिकारी भन्छन् ।

यस प्रणालीले पानी पार्दा वा हिमपात गराउँदा वा बादलले आकाश ढाक्दा अधिकतम तापक्रम नबढ्ने वा न्यूनतम तापक्रम समेत केही घट्ने सम्भावना हुन्छ । जसका कारण केही दिन चिसो बढ्ने भए पनि केही दिनपछि फेरि तापक्रम बढ्ने क्रम सुरु हुन्छ । सामान्यतः तीन महिने अवधिको नेपालको हिउँदमा मध्य माघबाट तापक्रम बढ्ने प्रवृत्ति धेरैतिर पाइने गरेको बताइन्छ ।

न्यूनचापीय प्रणाली यसपटक कम बनेको हो ?

मौसम विज्ञानको भाषामा न्यून चापीय क्षेत्र तथा रेखा भनिने गरेको मौसम प्रणाली खास गरी एअर प्रेसर वा वायुको चापसँग सम्बन्धित रहेको र त्यसले आर्द्रतालाई खिचेर पानी पार्ने सम्भावना दर्साउने मौसमविद्हरू बताउँछन् । न्यून चाप भएको क्षेत्रमा एअर प्रेसर कम हुन्छ अनि त्यसले वरपरको आर्द्रता खिच्छ र बादल विकसित हुन्छ ।

‘न्यून चाप भनेको मौसमी हलचल हुने अवस्था हो भने उच्च चाप भनेको मौसम स्थिर रहने अवस्था हो,’ मौसमविद् अधिकारी भन्छन्, ‘मौसम हलचल भएकै अवस्थामा बादल विकास हुने र पानी पर्ने गर्छ । हिउँदमा पोहोर परार भन्दा यसपालि न्यून चापीय प्रणालीको असर कमै देखिएको छ ।’ तर प्राध्यापक अर्यालले पश्चिमी वायुको प्रणाली ‘मनसुनजस्तो आउँछ नै भन्ने सुनिश्चित प्रणाली नरहेको’ बताउँछन् ।

उनी भन्छन्, ‘२०–४० वर्षअघि पनि यसबेला पानी नै नपरेको समेत देखिन्छ ।’ हिउँदमा वर्षभरि हुने वर्षाको औसत ४ प्रतिशत जति पानी पर्ने गरेको पाइन्छ । सबैभन्दा बढी वर्षा मनसुनमा झन्डै ८० प्रतिशत वर्षा हुन्छ भने प्री–मनसुनमा औसत १२ प्रतिशत र पोस्ट–मनसुनमा पाँच प्रतिशत जति हुने गरेको पाइन्छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार १३:३६

लोकप्रिय