सूचनाको शक्ति - The Power Of Information

        

सेवा प्रवाहलाई प्रभावकारी बनाउन खजुरा गाउँपालिका तीव्र अनुगमनमा

बाँकेको खजुरा गाउँपालिकाले पालिकाभित्र रहेका मातहतका कार्यालयहरुबाट हुने सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन अनुगमनलाई तीव्रता दिएको छ ।

गाउँपालिकाभित्र रहेका वडा कार्यालय र स्वास्थ्य चौकीमा मंगलबार अनुगमन गरी सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिइएको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए ।

नागरिकलाई वडा कार्यालय तथा स्वास्थ्य चौकीबाट सेवा प्रवाह सही ढङ्गले भए नभएको निरीक्षण गर्दै प्रमूख प्रशासकीय अधिकृत रानाले नागरिकलाई दिइने सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्न वडा तथा स्वास्थ्य चौकीका कर्मचारीलाई निर्देशन समेत दिएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत रानाले अनुगमनका क्रममा खजुरा गाउँपालिका वडा नं.१ वडा कार्यालय राधापुर स्वास्थ्य चौकी, वडा नं.२ को वडा कार्यालय सितापुर स्वास्थ्य चौकी वडा नं. ३ मा रहेको खजुरा प्राथामिक स्वास्थ्य केन्द्रमा पुगेर अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत रानाले गाउँपालिकाको पहिलो प्राथमिकता भनेकै छिटोछरितो सेवा प्रवाह गर्नु नै भएकाले नागरिकहरुसँग सेवा सुविधा प्राप्त गर्ने क्रममा कुनै बाधा अवरोध नभएको बारे सोधखोज गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत रानाले भने, ‘हाम्रा सबै कर्मचारीहरुले सेवा प्रवाहको कुरामा कुनै पनि सम्झौता गर्नु भएको छैन, कहिँकतै भएको भए सुधार गरेर अघि बढ्नुहोस्, आगामी दिनमा पनि सेवा प्रवाहमा कुनै सम्झौता नगर्न निर्देशन दिएका छौं ।’

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार १२:१६

लोकप्रिय