सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा प्याजको मूल्य दोब्बरले बृद्धि

नेपालगन्जमा प्याजको मूल्य आकासिएको छ । भारतले प्याज निर्यातमा प्रतिवन्ध लगाएपछि नेपालगन्जमा प्याजको मूल्य दोब्बरले बढेको हो ।

हिजोआज रानीतलाउ तरकारी बजारमा प्याज प्रति केजी ८० रुपैयाँमा विक्रि भइरहेको रानीतलाउ तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीले बताइन् ।  भारतले प्याज निर्यातमा प्रतिवन्ध लगाएपछि प्याजको मूल्य आकासिएको उनकाे भनाइ छ ।

उनका अनुसार अहिले नेपालगन्जमा तस्करी भएर आएको प्याजमात्र पाइन्छ । ‘साइकल र मोटरसाइकलमा क्यारिङ गरेर ल्याएको प्याजबाहेक अन्य ठाउँबाट आएको प्याज यहाँ छैन,’ उनले भनिन् ।

भारतले प्याज आयातमा प्रतिवन्ध लगाएपछि चोरीतस्करीको प्याजमात्र बजारमा रहेको रानीतलाउ तरकारी बजार व्यवस्थापन समितिका सदस्य मेराज कवडियाले बताए । उनले बजारमा प्याज अभाव रहेको जानकारी दिए । ‘धेरै परिमाणमा प्याज किन्न चाहने हो भने बजारमा छैन,’ उनले भने ।

रानीतलाउ तरकारी बजारमा प्याज विक्रि गर्दै आएका सलिम साईले पनि प्याज अभाव भएको बताए । उनले क्यारिङ गरेर ल्याएको प्याज विक्रि गरिरहेको बताए । उनले साइकलमा राखेर ल्याएको ५–१० किलो प्याज किन्न बाध्य भएको बताए ।

‘पहिले भन्सार भएर ट्रकका ट्रक प्याज आउँथ्यो र, बजारमा प्याज प्रशस्त हुन्थ्यो । क्यारिङ गरेर ल्याउनेले महंगोमा दिन्छन् । हामी पनि थोरै नाफा खाएर विक्रि गर्दा ग्राहकलाई महंगो पर्न जान्छ,’ उनले भने ।

 उनले अहिले ८० रुपैयाँ प्रति केजीका दरले प्याज विक्रि भइरहेको बताए । उनका अनुसार, गत वर्ष यो सिजनमा प्याजको मूल्य प्रति केजी ४०–४५ रुपैयाँ थियो ।

प्याजको मुल्य आकासिएपछि भान्सा महंगिएको तरकारी बजारमा भेटिएकी नेपालगन्ज १३, बुल्बुलियामा डेरा गरेर बस्दै आएकी शान्ति गौतमले बताइन् । उनले प्याजको मूल्य आकासिएपछि किन्न छाडेको गुनासो गरिन् ।

‘प्याज छोइ नसक्नु छ । पछिल्लो समय मासुमा समेत प्याज हाल्न सकिने अवस्था छैन,’ उनले गुनासो गर्दै भनिन् ।

स्रोत : नयाँ पत्रिका
प्रकाशित मिति : १७ माघ २०८०, बुधबार ११:२९

लोकप्रिय