सूचनाको शक्ति - The Power Of Information

        

पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम

 राप्तीको बाढीले क्षति पुर्‍याएको झोलुङ्गे पुल मर्मत नगरिँदा दुर्घटनाको जोखिम बढेको छ । राप्तीसोनारी गाउँपालिका–१, कुसुमस्थित बाँसखोली–भवानियापुर जोड्ने झोलुङ्गे पुलमा २०७९ साल असोजमा आएको बाढीले क्षति पुर्‍याएको थियो ।

सो पुलको अझैसम्म मर्मतसम्भार गरिएको छैन । झोलुङ्गे पुलमा क्षति पुगेको एक वर्ष बितिसक्दा पनि मर्मत गर्न बेवास्ता गरिएको आरोप स्थानीय बासिन्दाको छ ।

राप्तीपारि भवानियापुर गाउँका स्थानीय मोहनराज डाँगीले क्षतिग्रस्त झोलुङ्गे पुलको अवस्था अत्यन्त दयनीय रहेको र जुनसुकै बेलामा पनि पुल खस्ने अवस्थामा पुगेको बताउनुभयो । पुल मर्मतका लागि राप्तीसोनारी गाउँपालिकाले सहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विभागमा पटक पटक पत्र पठाए पनि वास्ता नभएको जनाएको छ ।  राप्तीसोनारी–१ का वडाध्यक्ष यमबहादुर खड्काले क्षतिग्रस्त पुल मर्मत गरिदिन पाँच पटक पत्र पठाइसकेको बताउनुभयो ।

सहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विभाग अन्तर्गत स्थानीय पुर्वाधार विकास आयोजना कार्यालय बुटवलले लुम्बिनी प्रदेशभित्र रहेका झोलुङ्गे पुल हेर्ने गरेको छ । आयोजना कार्यालयका इन्जिनियर राजु थापामगरले आफूहरू बाँकेमा पुगेर बाढीले क्षति गरेको झोलुङ्गे पुलको निरीक्षण गरी लागत खर्च स्टिमेटसमेत तयार गरेको जनाउँदै बजेटमा अर्थ मन्त्रालयले सहमति नदिँदा काम नभएको बताउनुभयो ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : १७ माघ २०८०, बुधबार ११:२६

लोकप्रिय