सूचनाको शक्ति - The Power Of Information

        

एकै वडाका बिस युवा जेलमा

जाजरकोट जिल्लाको नलगाड नगरपालिका–९ का २० युवा विभिन्न मुद्दामा जेलमा बन्दी जीवन बिताइरहेका छन् । नलगाड–९, घरङ्गा, बाँसकोट र ताँत्रा गाउँका २० युवा अफिम खेती वा ओसारपसार गर्नेसम्बन्धी कसुरमा जेल परेका हुन् । आर्थिक प्रलोभनमा अपरिचित व्यक्तिको अफिम ओसारपसार गर्दा उनीहरू जेल परेका हुन् । ती युवालाई तीन वर्षदेखि १० वर्षसम्मको कैद सजाय तोकिएको पाइएको छ । तिनमा १२ जना भारतीय कारागार र पाँच जना जाजरकोट कारागारमा छन् । सुर्खेत, बाँके र काठमाडौँ कारागारमा एक/एक जना छन् ।

परिवारका मूल व्यक्ति घरमा कमाउने मान्छे नै जेल गएपछि परिवारको बिचल्ली भएको छ । कमाउने अभिभावक जेल परेपछि गाउँमा साना बालबालिका, महिला, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी व्यक्ति मात्रै छन् । भूकम्पले चर्किएका घर छाडेर हाल त्रिपालमा बसिरहेका पीडित परिवारलाई खान लाउनकै समस्या भइरहेको छ । काम गर्ने सक्रिय युवा नै जेल परेपछि अस्थायी टहरासमेत निर्माण गर्न नसकिएको स्थानीय लक्ष्मी सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “धन कमाउने श्रीमान् जेलमा हुनुहुन्छ । आयस्रोत केही छैन । १० जनाको घरपरिवारलाई के खाऊँ के लगाऊँ भन्ने पिरलो छ ।”

लक्ष्मी सिंहको घरमा तीन छोरा र तीन छोरीसहित घरमा बुढा सासूससुरा छन् । श्रीमान् प्रेम सिंह जेल परेपछि खानाको जोहोका लागि काम गर्नुपर्ने बाध्यताले जेठो छोरासमेत पढाइ छाडेर कमाइका लागि भारत गएको लक्ष्मीले बताउनुभयो । घरमा कमाउने बुवा कालीबहादुर सिंह जेल परेपछि आफूले पढाइ छाडेर परिवारको आहारा जोहो गर्न बाध्य भएको छोरा राजेन्द्र सिंहले बताउनुभयो ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : १७ माघ २०८०, बुधबार ११:०५

लोकप्रिय