सूचनाको शक्ति - The Power Of Information

        

मालपोत अधिकृतसँग कहाँबाट थुप्रियो गैरकानुनी सम्पत्ति ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शाखा अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत मीनबहादुर भट्टराईविरुद्ध स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।

उनी हाल मधेश प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा शाखा अधिकृत (आठौँ तह) छन् । २६ साउन ०५४ मा सार्वजनिक सेवा प्रवेश गरेका भट्टराईले ३० जेठ ०७९ सम्मको अवधिमा गरेको आम्दानी तथा खर्चको विश्लेषण अख्तियारले गरेको थियो ।

उक्त अवधिमा पारिश्रमिक आय, अंशबन्डामा लिएको नगद, जग्गा बिक्री, सेयर बिक्री, ऋण सापटी लिएको, भत्ताबापत प्राप्त आय, कृषि आय, बिमा फिर्ता रकम, घरबहाल आय र सवारीसाधन बिक्रीसमेत गरी भट्टराईको कुल वैध आम्दानी पाँच करोड ९४ लाख ६७ हजार रुपैयाँ देखिएको छ ।

त्यसै अवधिमा जग्गा खरिद, ऋण लिँदा तिरेको कमिसन, बिमा प्रिमियम भुक्तानी, अध्ययन खर्च, सेयर खरिद, ऋण सापटी फिर्ता, विद्युतीय उपकरण खरिद, घरको तला निर्माण, सवारीसाधन खरिद र बैंक मौज्दात गरी भट्टराईको खर्च तथा लगानी १० करोड २३ लाख ९२ हजार रुपैयाँ देखिएको आरोपपत्रमा उल्लेख छ ।

जाँच अवधिमा भट्टराईले गरेको वैध आम्दानीबाट खर्च घटाउँदा आउने चार करोड २९ लाख २५ हजार रुपैयाँ र स्रोत नखुलेका अवधिका विभिन्न ‘कट अफ’ मितिमा गरेको खर्च तथा लगानी (सम्पत्ति)समेत कुल स्रोत नखुलेको रकम चार करोड ४० लाख १५ हजार पुगेको अख्तियारको दाबी छ । वैधानिक स्रोत नखुलेको त्यही रकमलाई बिगो कायम गरेर अख्तियारले भट्टराईविरुद्ध मंगलबार विशेषमा मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार ०९:०३

लोकप्रिय