सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जका दुई सडकको स्तरोन्नति सुरु

पछिल्लो केही वर्षयता स्तरीय सडक र बाटो निर्माणमा ठुलो फड्को मारेको नेपालगन्जमा थप दुई सडकको स्तरोन्नती गरेर गुणस्तरयुक्त अस्फाल्ट पिच गर्ने कार्य सुरु भएको छ।

नेपालगन्ज वडा नम्बर १९ फुटाहादेखि एसके डेरी उद्योगसम्म ३७५ मिटर लामो र ६ मिटर चौडा बाटो तथा सुर्खेत रोडदेखि टाँगा स्टेसन जोड्ने ५५० मिटर लामो र आठ मिटर चौडा पासाङ ल्हामु मार्ग अस्फाल्ट पिच गर्न थालिएको हो।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले यी दुवै सडकको स्तरोन्नती कार्यको शिलान्यास गरेपछि अस्फाल्ट पिचको काम सुरु भएको छ।

उपमहानगरपालिकाका अनुसार फुटाहा सडक लुम्बिनी प्रदेशको समपूरक बजेट र नेपालगन्ज उपमहानगरपालिकाको संयुक्त लागतमा पिच हुन लागेको हो। ६० लाख रुपियाँको बजेटमा निर्माण सुरु भएको उक्त सडक निर्माणको जिम्मा सात भाइ निर्माण सेवाले लिएको छ।

असार १५ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको इन्जिनियर ईश्वरी सापकोटाले जानकारी दिनुभयो। त्यस्तै, नगरस्तरीय ७५ लाख रुपियाँको बजेटमा अस्फाल्ट पिच हुन थालेको पासाङ ल्हामु मार्ग असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी पिके कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको इन्जिनियर मबिन्द्रमान श्रेष्ठले बताउनुभयो।

सडक अस्फाल्ट गर्ने कार्यको शुभारम्भका अवसरमा नगर प्रमुख विष्टले छिटो, छरितो र गुणस्तरीय काम निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशनसमेत दिनुभएको छ।

यसैबिच, बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको बागेश्वरी चिल्ड्रेन पार्कको सौन्दर्यकरण समेत सुरु गरिएको छ। बागेश्वरी काल भैरव कन्स्ट्रक्सनले ३० लाख बजेटमा पार्कको वरिपरि पर्खाल निर्माण, माटो पटान, ग्राभेललगायतका काम गर्ने गरी सम्झौता भएको नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर प्रमोदकुमार हरिजनले जानकारी दिनुभयो।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : १७ माघ २०८०, बुधबार ०८:२०

लोकप्रिय