सूचनाको शक्ति - The Power Of Information

        

भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा नेपालको २ स्थान सुधा

भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा नेपालले दुई स्थान सुधार गरेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको सन् २०२३ को विश्वव्यापी भ्रष्टाचारको सूचकाङ्कमा नेपाल ३५ अङ्कसहित १ सय ८ औँ स्थानमा रहेको हो ।

सन् २०२२ मा नेपाल ३४ अङ्कसहित १ सय १० औँ स्थानमा थियो । १ सय ८० वटा देश सहभागी यो सूचकाङ्कमा १ सय नम्बर पाउने देश अति स्वच्छ र शून्य नम्बर पाउने देश अति भ्रष्ट हुन्छ । यस वर्षको विश्वव्यापी औसत अङ्क ४३ रहेकोमा नेपालले ३५ नम्बर पाएको छ ।

नेपाल भ्रष्टाचार व्याप्त देशहरूकै सूचीमा रहेको छ । भ्रष्टाचारविरुद्धको जनचाहना सम्बोधन गर्न सरकार अति गम्भीर हुन जरुरी रहेको ट्रान्सपरेन्सीले जनाएको छ ।

यसका लागि संसदमा विचाराधीन रहेका भ्रष्टाचारविरोधी कानुनलाई फितलो बनाउन भएका प्रयास रोक्न, राजनीतिक व्यक्तिलाई पनि भ्रष्टाचारका मुद्दामा निष्पक्ष अनुसन्धान र कारबाही गर्न, सार्वजनिक पदाधिकारीको सम्पत्तिको जाँच गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न र मन्त्रिपरिषद्को नीतिगत निर्णयका नाममा भ्रष्टाचारको अनुसन्धानबाट मुक्ति पाउने व्यवस्थाको अन्त्य गर्न ट्रान्सपरेन्सीले नेपाल सरकारसँग माग गरेको छ ।

विश्वका दुई तिहाइ देशले ५० भन्दा कम अङ्क पाएका छन् । अर्थात् दुई तिहाइभन्दा धेरै देशमा भ्रष्टाचार धेरै रहेको छ । ट्रान्सपरेन्सीले पछिल्लो १ दशकमा सार्वजनिक क्षेत्रको भ्रष्टाचार नियन्त्रण हुने कार्यमा प्रगति हुन नसकेको जनाएको छ ।

सन् २०२३ मा डेनमार्कले ९० अङ्क प्राप्त गरेर सबैभन्दा कम भ्रष्टाचार हुने देश बनेको छ भने ११ अङ्कसहित सोमालिया सबैभन्दा धेरै भ्रष्टाचार हुने देश रहेको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलवार १५:३२

लोकप्रिय