सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ सन्दीपलाई दोषी ठहर गरिएको अदालतको पूर्णपाठ

 नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई गत १३ पुसमा बलात्कार मुद्दामा दोषी ठहर गरेको काठमाडौं जिल्ला अदालतले पूर्णपाठ सार्वजनिक गरेको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीस शिशिरराज ढकालको इजलासले लामिछानेलाई बलत्कार मुद्दामा दोषी ठहर गरेको थियो।

दोषी ठहरपछि लामिछानेमाथि २५ पुसमा सजाय निर्धारण गर्दै आठ वर्ष कैद र ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ती उपलब्ध गराउन आदेश दिएको थियो।

अदालतले सार्वजनिक गरेको ७६ पृष्ठ लामो पूर्णपाठमा अदालत मुख्य रूपमा दुई प्रश्नमा केन्द्रित भएको छ। अदालतको पूर्णपाठअनुसार पहिलो प्रश्नमा सन्दीप लामिछाने र गौशालाका बीचमा करणीको कार्य भएको छ छैन? त्यस्तै दोस्रो प्रश्नका रूपमा गौशाला २६ नाबालिग हुन् या १८ वर्ष उमेर पुगेकी बालिग? यो विषयमा नै अदालत केन्द्रित देखिन्छ।

अदालतले लामो विवेचना गर्दै गौशाला २६ को जाहेरी दरखास्तलाई नै मुख्य आधारका रूपमा लिएको छ। अदालतले भनेको छ, ‘प्रतिवादी सन्दिप लामिछानेको बयान, परिवर्तित नाम गौशाला २६, राजन राणा, बाबुकाजी थापा मगर, सविन श्रेष्ठ, अनिश श्रेष्ठ, समिर पुरी, सन्तोषप्रसाद अधिकारी, लाल बहादुर बानियाँ, साहव आलम, देव खनाल समेतले गरिदिएको घटना विवरण कागज तथा निजहरूको बकपत्रलगायत मिसिल संलग्न सिसिटिभी फुटेजबाट परिवर्तित नाम गौशाला २६ तथा प्रतिवादी सन्दिप लामिछाने काठमाडौंदेखि नगरकोट गई पुनः काठमाडौं आई होटल काठमाडौं ईनको एउटै कोठामा बसेको देखिन्छ। सो कुरामा वादी प्रतिवादीको विवाद रहेको समेत देखिँदैन। राति एउटै कोठामा बसेको अवस्था देखिएको, सो समयमा परिवर्तित नाम गौशाला २६ ले करणी भएको भनेको र परिवर्तित नाम गौशाला २६ तथा प्रतिवादी सन्दिप लामिछानेको घटना हुँदाको दिनको क्रियाकलापको घटनाक्रम समेतलाई विचार गर्दा प्रतिवादी तथा परिवर्तित नाम गौशाला २६ (छ) का बीचमा करणी भएको देखियो।’

त्यस्तै, अदालतले गौशाला २६ रालुका गाविस नुवाकोटको बसाइँसराइँ दर्ता रजिष्ट्रर, शंकरापुर नगरपालिका काठमाडौंको बसाइँसराइँ दर्ता किताब, नारायणी उप-क्षेत्रीय अस्पताल वीरगञ्जको डेलिभरी रजिष्टरमा उल्लेखित कागजातलाई आधार मान्दै नाबालिक नरहेको ठहर समेत गरेको छ।

आदेशमा भनिएको छ, ‘परिवर्तित नाम गौशाला २६ (छ)०७९/०८०) को बकपत्र, तादी गाउँ पालिका २ नम्बर वडा कार्यालय, नुवाकोटको मिति २०८०।०५।०५ गते तथा मिती २०७९।०७।२९ को पत्र र सोसाथ संलग्न प्रमाणसमेतबाट परिवर्तित नाम गौशाला २६ (छ)(१)(०७९/०८०) को जन्म मिति २०६१।०३।१८ मा भएको देखिई वारदात हुँदाका दिनमा निजको उमेर १८ वर्ष पुगिसकेको देखियो।’

बलात्कारको सम्बन्धमा सन्दीपले नाजुक आर्थिक अवस्थाको फाइदा उठाएको अदालतको पूर्ण पाठमा उल्लेख छ।

‘१८ वर्ष उमेर पुगेकी परिवर्तित नाम गौशाला २६ (छ) को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकोले प्रतिवादी सन्दिप लामिछानेले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (१), (२) र (३) (ङ) बमोजिमको कसूर गरेको ठहर्छ।’

यस्तो छ मुद्दाको पूर्णपाठ:

प्रकाशित मिति : १६ माघ २०८०, मंगलवार ०८:५२

लोकप्रिय