सूचनाको शक्ति - The Power Of Information

        

बजेट खर्चमा अर्थ मन्त्रालय नै कमजोर, ६ महिनामा १० प्रतिशत मात्रै

कमजोर बजेट खर्चमा विकासे मन्त्रालयहरूलाई दोष दिँदै आएको अर्थ मन्त्रालय नै आफ्नो बजेट खर्चमा भने दयनीय अवस्थामा देखिएको छ । मन्त्रालयले चालु आर्थिक वर्ष २०८०–०८१ को पहिलो ६ महिनामा कुल विनियोजनको १०.०५ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ ।

चालु आर्थिक वर्ष अर्थ मन्त्रालय र मातहतका निकायका लागि ४० अर्ब ४५ करोड ४१ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यसमध्ये पुस मसान्तसम्म ४ अर्ब ६ करोड ४४ लाखमात्र खर्च भएको हो । यसरी मन्त्रालयको खर्च कम देखिनुमा आर्थिक पुनरुत्थान, राहत तथा सहुलियत कार्यक्रम र मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालको सबैभन्दा ठूलो हात छ ।

आर्थिक पुनरुत्थान, राहत तथा सहुलियत कार्यक्रमका लागि यस वर्ष २१ अर्ब १४ करोड विनियोजन भएको छ । तर, ६ महिनामा यो शीर्षकबाट एक पैसा पनि खर्च भएको छैन । एमसीए नेपाललाई यसपालि १० अर्ब ८४ करोड १७ लाख रुपैयाँ विनियोजन गरिएको छ । तर, ६ महिनामा ५ करोडमात्र खर्च भएको छ ।

यी दुई कार्यक्रम तथा आयोजनाका कारण मन्त्रालयको खर्च प्रतिशत निकै कम देखिएको हो । कुल बजेट खर्च भने ६ महिनामा ३२.७५ प्रतिशत पुगेको छ । यो गत आर्थिक वर्ष २०७९–०८० को तुलनामा ०.६२ प्रतिशत मात्र धेरै हो । यो वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबर बजेट कार्यान्वयन गरिरहेको छ ।

खर्च भने पुस मसान्तसम्म ५ खर्ब ७३ अर्ब ६३ करोडमात्र भएको छ । त्यसमध्ये चालु खर्च ४ खर्ब ४३ अर्ब ४ करोड, पुँजीगत खर्च ५० अर्ब ४४ करोड र वित्तीय व्यवस्थातर्फको खर्च ८० अर्ब १३ करोड छ । यो कुल विनियोजनको तुलनामा क्रमशः ३८.७७, १४.४३ र २७.१६ प्रतिशत मात्र हो ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार १८:५१

लोकप्रिय