२०८३ जेठ २५ , सोमबार 9, June 2026, Tuesday

सडक मर्मतमा २८ लाख भ्रष्टाचार, १० जनाविरुद्ध मुद्दा दायर

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० माघ १५ गते सोमबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारुसहित २८ लाख ६२ हजार ४५९ रुपैयाँ भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार सो नगरपालिकाको वडा नं.७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा अर्डिनरी स्वाय, हार्ड रक कटिङ गर्नुपर्ने भनी कामको बढी मूल्यांकन गराई नापी किताब, प्राविधिक विल र कार्य सम्पन्नको प्रतिवेदन तयार पारी सो रकम भुक्तान गरिएको देखिएको छ ।

अख्तियारले सारुसहित हस्तबहादुर मल्ल, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उनबहादुर शाही, सचिव राधिका रावल र कोषाध्यक्ष बिजुली मल्लले सम्झौता विपरीत प्रतिवेदन तयार पारेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

सडक निर्माण अनुगमन समितिका सदस्य चक्रबहादुर सावत, सदस्य हजर कला कामी र इन्जिनियर महेशसिंह कठायतले द्विपक्षीय सम्झौता तथा प्राविधिक इष्टिमेट अनुसार कार्य सम्पन्न भएको भनी गलत अनुगमन प्रतिवेदन दिएको र सोही नगरपालिकाको वडा नं.८ का अध्यक्ष कर्ण रावल र तत्कालीन सदस्य पशुपति शाहीले सम्झौता अनुसार कार्य सम्पन्न भएको भनी गलत सिफारिस दिई भ्रष्टाचार गरेको आरोप लागेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ १५ गते सोमबार