सूचनाको शक्ति - The Power Of Information

        

कर्मचारी अभावमा काम गर्न कठिन

नेपालगञ्जस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्मचारी अभावमा सञ्चालन भइरहेको छ ।

कार्यालयको क्षेत्र बाँके र बर्दियामा प्रत्यक्ष तथा रुकुमपूर्व, रोल्पा, दाङ र प्युठान अप्रत्यक्ष गरी ६ जिल्लामा रहेको छ । तर कर्मचारी दरबन्दी परिपूर्ती नभएका कारण कार्य सम्पादनमा कठिनाइ हुनेगरेको कार्यालय प्रमुख अमितभुषण सुमनले जानकारी दिनुभयो ।

१५ जना कर्मचारीको दरबन्दी भए पनि हाल ९ जना मात्र कार्यरत रहनुभएको छ । कार्यालय प्रमुख सुमनले भन्नुभयो, ‘दाङ कार्यालयबाट रुकुमपूर्व, दाङ, प्युठान र रोल्पा हेर्ने जिम्मेवारी भए पनि नेपालगञ्जमार्फत पनि अप्रत्यक्ष जिम्मेवारीमा ती जिल्लामा रहेका कार्यालय पर्दछन ।’

बरिष्ठ खाद्य अनुसन्धान अधिकृत एक, प्रास तीनजना, माइक्रोबायोलोजिष्ट एकजना र कम्प्युटर अपरेटर एक जनाको पद रिक्त रहेको छ । बरिष्ठ खाद्य अनुसन्धान अधिकृतलगायतका दरबन्दी परिपूर्ति हुन नसक्दा कार्यालयको कार्य सम्पादनमा कठिनाइ भइरहेको कर्मचारीको भनाइ छ ।

विभिन्न जिल्लामा हुने बजार अनूगमन, संयुक्त बजार अनूगमन, नियमित बजार अनूगमन, नमूना सङ्कलन तथा अन्य नियमित कार्य सम्पादन कर्मचारीका अभावमा प्रभावित हुनेगरेको कार्यालय प्रमुख सुमनको भनाइ छ ।

नेपालगञ्ज जत्तिकै जिम्मेवारी भएका कार्यालयमा २३ जना कर्मचारीको दरबन्दी राखिएको भन्दै कार्यालय प्रमुख सुमनले यहाँ दरबन्दी कम राखिएको र ती पनि रिक्त रहँदा नियमित कार्य सम्पादनमा समस्या भएको दाबी गर्नुभयो ।

रिक्त दरबन्दीमा काजमा भए पनि कर्मचारी खटाएर कार्यालयको कार्यसम्पादन प्रभावकारी बनाउनु पर्ने उहाँले आग्रह गर्नुभयो ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : १५ माघ २०८०, सोमबार ०९:०२

लोकप्रिय