सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, पानी पर्ने सम्भावना न्यून

चिसो झन बढ्दै, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

पश्चिमी वायुको आंशिक प्रभावले आज पनि मौसममा आंशिक बदली भएको छ । आज बिहान तराईका अधिकांश जिल्लाहरुमा हुस्सु र कुहिरो लागेको छ । पहाडी भू–भागमा आंशिक बदली भएको छ भने अन्य भू–भागमा सामान्यतया मौसम सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति कर्णालीको उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबार र मंगलबारसमेत उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो अवधिमा पानी पर्ने सम्भावना भने देखिएको छैन । हुस्सु, कुहिरो र हिमपातका कारण तापक्रम घट्ने हुँदा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाको पूर्वानुमानले सबैमा अनुरोध गरेको छ । आज सूर्योदय बिहान ६ बजेर ५३ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ५ बजेर ४१ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतवार ०७:२९

लोकप्रिय