सूचनाको शक्ति - The Power Of Information

        

समय-सन्दर्भ

मेलम्चीको पानीमा बगेको पैसा र राजनीति

भन्नै पर्छ, उद्घाटन गरेर मात्रै मेलम्चीको पानी स्थायीरुपमा काठमाडौं आउँदैन । यसरी यो आयोजना इतिहासकै असफल बन्छ ।

माघे सङ्क्रान्तिको दिन ‘पाहुना’ लाग्न मेलम्चीको पानी काठमाडौंबासीको घरमा टुप्लुक्क आइपुग्यो । पाहुनालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरे ! मेलम्चीको पानीको यो पाँचौँ काठमाडौं ‘भ्रमण’ हो ! स्वागत भने आठौँ पटक गरियो । मेलम्चीको पानीले पहिलोपटक २०७७ असार २१ गते काठमाडौंको आएको थियो । त्यसबेला तत्कालीन खानेपानीमन्त्री बिना मगरले उद्घाटन गरेकी थिइन् ।

त्यसपछि ज–जसले अवसर पाए, स्वागत गरे । मेलम्चीको पानीको उद्घाटन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीदेखि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसम्मले गरेका छन् । ओली सरकारले त दुई महिनामा मेलम्ची आयोजनाको तीन पटक उद्घाटन गरेको थियो । आयोजनाको मुहान संरचना तयार नहुँदै ओलीलाई उद्घाटनको हतारो भयो । अस्थायी बाँध हालेर उनले प्रधानमन्त्रीका हैसियतमा २०७७ फागुन २२ गते उद्घाटन गरेका थिए ।

त्यसको एक महिना नबित्दै भृकुटीमण्डपमा निर्माण गरिएको ढुंगेधारा खोलेर तत्कालीन राष्ट्रपति भण्डारीले औपचारिक उद्घाटन गरे । ओली र विद्याअघि २०७७ फागुन १० गते मेलम्ची पुगेर तत्कालीन खानेपानीमन्त्री मणिचन्द्र थापाले उद्घाटन गरेका थिए । प्रचण्डलाई भने आठौँ पटकमा मात्रै उद्घाटनको अवसर जुर्यो । नेपालीमा एउटा भनाइ छ, ‘मौका आउँछ, पर्खँदैन ।’ मेलम्चीको पानी पनि त्यस्तै भयो । त्यसैले मौका आउनसाथ उद्घाटन गरिहाल्छन् ।

पानी झार्ने दीर्घकालीन योजना हुँदैन । उद्घाटन गर्ने र जसले लिने होड मात्रै चल्छ । यसले कहिलेसम्म निरन्तरता पाउने हो ? यसै भन्न सकिँदैन । मेलम्चीको पानी कहिले स्थायीरुपमा आउने हो ? त्यो पनि पत्तो छैन । मेलम्चीको पानी आठौँ पटक उद्घाटन गरेपछि काठमाडौं महानगरका मेयर बालेनले ब्याङ्ग कसे, एउटै मन छ, कति पल्ट जित्छौँ प्रचण्ड सरकार ! शासकलाई लाग्दो हो– मेलम्चीको पानी पनि सत्ताको कुर्सी हो ।

त्यसैले उद्घाटन गर्न मरिहत्ते गर्छन् । एउटा आयोजनाको उद्घाटन एकैपटकमा सकिनु पर्ने होइन र ? किन गर्नुपर्यो पटकपटक उद्घाटन ? यो प्रश्नको जवाफ फर्काउन सम्भवतः शासकीय तहका कुनै नेता तयार छैनन् । शासक उपलब्धिमूलक काम पूर्ण गरेर नागरिकलाई सेवा दिनभन्दा उद्घाटन गरेर जनतामा भ्रम बाँड्न उद्यत छन् । उद्घाटन मोह मन्त्री र नेतालाई मात्रै छैन । स्थानीय तहका जनप्रतिनिधिलाई पनि उत्तिकै छ ।

कसले उद्घाटन गर्ने भन्नेमा पालिका प्रमुख र उपप्रमुखबीच झगडा नै भएको देख्न पाँइन्छ । एमाले अध्यक्ष ओलीलाई धरहरा उद्घाटनमा पनि हतार भयो । त्योभन्दा पछि उद्घाटन गर्न पाउँदिनँ कि भन्ने डर । प्रधानमन्त्री पद जाने भएपछि धरहराको संरचना पूरा नभइ नै उनले २०७८ वैशाख ११ गते उद्घाटन गरेका थिए । उद्घाटन गरेका तीन वर्षसम्म पनि अझै धरहरा बनिसकेको छैन । यो त एउटा उदाहरण मात्रै हो । उद्घाटन गरेर अलपत्र बनेका कयौँ आयोजनाहरू छन् । शासकलाई लाग्दो हो, मन्त्री, प्रधानमन्त्रीको मुख्य काम उद्घाटन गर्नु हो ।

त्यो भन्दा बढी चिन्ता छैन । बनाइदिनु मात्रै पर्छ आफ्नै चिहान उद्घाटन गर्न पछि हट्दैनन् नेताहरू ! मेलम्चीकै पानीको कुरा गर्दा कुनै दन्त्यकथा भन्दा कम लाग्दैन । बच्चैदेखि मेलम्चीको पानीको कथा सुन्दै आएका छौँ । तर, ‘बाघ आयो, बाघ आयो’ भन्ने कथाजस्तै भएको छ । आउँछ आउँछ भन्ने, तर आउँदै नआउने । आएपनि टिक्दै नटिक्ने । मेलम्चीको पानी हरेक पर्वको उपहार भयो । कहिले दशैंको उपहार– मेलम्चीको पानी भनियो । कहिले नयाँ वर्षको उपहार त्यही मेलम्चीलाई देखाइयो । उद्घाटन गरेको तीन–चार महिना नबित्दै बन्द हुन्छ ।

शासक मनमनै गद्गद् ! फेरि उद्घाटन गर्न पाइने भयो ! फेरि पानीमा राजनीति हुने भयो ! खोज्न जान्नुपर्छ, खुसी हुने बहाना अनेक छन् । पानी आउँदा पनि खुसी । बन्द हुँदा पनि ! हेलम्बु जनताको लागि मात्रै मेलम्चीको मुहान हो । शासकका लागि त पैसाको मुहान हो ! उनीहरूलाई लाग्दो हो, प्रार्थना गर्दा हुन्, फेरि बिग्रियोस् मेलम्ची आयोजना ! फेरि ठेक्का दिन पाइयोस् ! फेरि गोजी भरियोस् ! दुहुनो गाई नै बनेको छ, मेलम्ची !

कमाउन खाडीमा पसिना बगाउनै पर्दैन । बगेको पानीमै पनि पैसा छ ! पहिलो चरणको काममा ३४ अर्ब रुपैयाँ खर्च हुने अनुमान रहेको थियो । तर, आयोजना पूरा गर्न कम्तीमा ६५ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । मेलम्चीको पानी झरिरहेको धाराको सङ्ख्या डेढ लाख रहेको अनुमान गरिएको छ । त्यो सङ्ख्यालाई आधार मान्दा मेलम्चीको पानी ल्याउँदा हालसम्म भएको खर्च एक धारा बराबर झन्डै साढे ४ लाख लगानी पर्न आउँछ ।

उद्घाटन गरेर ताम्रपत्रमा नाम खोपायो, पुग्यो । उद्घाटनको दिन परर ताली बहिजल्छ । दास मानसिकता भएका कर्मचारी र आसेपासेले गुणगान गाइहाल्छन् । राष्ट्रवादी र देशप्रेमिको ‘मुखुन्डो’ लगाइदिइहाल्छन् । नेतालाई चाहिएकै त्यति हो ! राजनीति गरेकै त्यतिकै लागि ! अरू के मतलब ? आयोजना अधुरो रहोस् कि पूरा होस् ! निश्चय पनि शिलान्यास र उद्घाटन औपचारिकता हुन् । तर, जसरी तामझामका साथ गरिन्छ, त्यो व्यवहारमा लागू हुँदैन ।

प्रधानमन्त्री र मन्त्रीहरूको समय भनेको जनताको समय हो । उनीहरूले गर्ने एक पलको निर्णय जनताको भविष्यसँग जोडिएको हुन्छ । तर, कामै नपाएजस्तै कार्यकर्ता र कर्मचारीको हुल बाँधी दिनका दिन उद्घाटनमा पुग्ने गरेका छन् । जुन शोभनीय देखिँदैन । अर्कोतर्फ शिलान्यास–उद्घाटन राजनीति पनि हो । भोलि जनतामाझ जानैपर्छ । राम्रो काम गरौं, सक्ने होइनन् ! अनि जनतामाझ कुन मुख लिएर जाने ? के भन्दै जाने ?

केही आयोजनाहरूको शिलान्यास र उद्घाटन गरी राखे ‘मैले गरेको काम’ भन्दै भ्रम छर्न पाउँछन् । जनताको आँखामा छारो हाल्न पाउँछन् । जनतालाई मूर्ख बनाउन पाउँछन् । एउटा मन्त्री एउटा कार्यक्रमको उद्घाटनमा सरिक हुँदा राज्यको लाखौँ रुपैयाँ खर्च हुन्छ । त्यसमाथि सचिव, सहसचिव, अरू कर्मचारी र कार्यकर्ताको लर्को लाग्छन् । यता विभागीय मन्त्री र कर्मचारी नहुँदा सेवाग्राहीका काम रोकिन्छ । गर्नुपर्ने निर्णय पर धकेलिन्छ ।

अन्ततः जनताले नै दुःख पाउनेबाहेक केही हुँदैन । राज्यको पैसा खर्च गरिगरी, हेलिकप्टर चढिचढी उद्घाटन र शिलान्यास गर्नुको अर्थ हुँदैन । भन्नै पर्छ, उद्घाटन गरेर मात्रै मेलम्चीको पानी स्थायीरुपमा काठमाडौं आउँदैन । यसरी यो आयोजना इतिहासकै असफल बन्छ । बालुवामा पानी हालेजस्तो निरर्थक साबित हुन्छ । निकम्मा नेताहरूका कारण काठमाडौंबासीको प्यास मेटाइदिने स्वर्गीय नेता कृष्णप्रसाद भट्टराईको सपनासमेत बदनाम हुनेछ । र, काठमाडौँवासीको मेलम्ची सपनामा तुसारापात हुनेछ ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार १७:३३

लोकप्रिय