सूचनाको शक्ति - The Power Of Information

        

किसानमाथि धोका

नरैनापुरमा सरकारी अनुदानको १३० बोरा मल बाटोबाटै गायब

अनुदानित युरिया मलमध्ये सहकारीको गोदाममा ६४ बोरामात्रै फेला परेको छ ।

सङ्घीय सरकारले अनुदानमा बाँके नरैनापुरका किसानका लागि पठाइएको मल बाटोबाट हराएको छ । बाँकेको नरैनापुर-५ मटेहियास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको १३० बोरा मल बाटोबाटै गायब भएको हो ।

नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट यही माघ ९ गते बुझिलिएको २०० बोरा (प्रतिबोरा ५० किलो) सङ्घीय सरकारबाट अनुदान प्राप्त भएको थियो । उक्त अनुदानित युरिया मलमध्ये सहकारीको गोदाममा ६४ बोरामात्रै फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

उनका अनुसार छ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको भर्पाई पेस भएको छ भने बाँकी हुनुपर्ने १३० बोरा युरिया मल बाटोबाटै गायब भएको छ । उक्त सहकारीले प्रचलित कानुनविपरीतको कार्य गरेको पाइएकाले उपभोक्ताहित संरक्षण ऐनबमोजिम रु.दुई लाख जरिवाना गरिएको प्रजिअ पोखरेलले बताए ।

अहिले गोदाममा भएको ६४ बोरा अनुदानित मल सिल गरिएको छ भने गायब भएको १३० बोरा मलबारेमा सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिइएको छ । अनुदानको मल तोकिएको सहकारीमार्फत तोकिएका क्षेत्रका किसानले पाए नपाएको सुनिश्चित गर्न आकस्मिक अनुगमन गरिएको पनि प्रजिअ पोखरेलले बताए ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा वाणिज्य, कृषि ज्ञानकेन्द्र, कृषि सामग्री कम्पनीका प्रमुखसमेतको सहभागितामा बिहीबार गएको अनुगमन टोलीले नरैनापुरस्थित कृषि सहकारी ‘राप्ती कृषि सहकारी संस्था लिमिटेड’ नरैनापुर–५ को आकस्मिक अनुगमन गरेको थियो ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार १०:४४

लोकप्रिय