जाजरकोटका भूकम्पपीडितका लागि आवश्यक आवास अनुदान रकम वितरण प्रक्रियामा ढिलासुस्ती भएको छ । नेपाल सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न स्थानीय तहमा रकम पठाए पनि वितरण प्रक्रियामा ढिलासुस्ती भएको हो । भूकम्प गएको करिब ८२ दिन बित्दासमेत लाभग्राही सूचीकृतले रकम पाउन सकेका छैनन् ।
पुस माघको जाडोमा समेत भूकम्पपीडित त्रिपालमा बस्दै आएका छन् । स्थानीय तहको ढिलासुस्तीका कारण अनुदान रकम नपाएपछि भूकम्पपीडित बिचल्लीमा परेका छन् । नेपाल सरकारबाट जिल्ला विपत् व्यवस्थापन कोषमा भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न जनही २५ हजार रुपैयाँका दरले रकम प्राप्त भएको छ ।
जिल्लामा ४२ हजार ५२४ लाभग्राही कायम छन् । पहिलो किस्ता रकमका लागि २८ हजार ६८२ लाभग्राहीले स्थानीय तहमा सम्झौता गरेका छन् । तिनीहरूमध्ये २७ हजार ७३५ लाभग्राहीले पहिलो किस्ता रकम २५ हजारका दरले ६९ करोड ३३ लाख ७५ हजार रुपियाँ वितरण भइसकेको जनाइएको छ ।
भेरी, नलगाड, छेडागाड नगरपालिका, बारेकोट, कुशे, शिवालय, जुनीचाँदे गाउँपालिकाले पहिलो किस्ता रकम वितरण गरेका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार नेपाल सरकारको अनुदान सहयोगबाट माघ ९ गतेसम्म नौ हजार ८१९ जना, सहयोगी निकायबाट ५२२ गरी जम्मा १० हजार ३४१ अस्थायी आवास निर्माण भएको छ ।
नेपाल सरकारबाट जिल्ला विपत् व्यवस्थापन कोषमा भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न प्राप्त एक अर्ब तीन करोड ४१ लाख ७५ हजार रुपियाँ स्थानीय तहको विपत् व्यवस्थापन समितिको खातामा पठाइसकेको प्रशासकीय अधिकृत शर्माले बताए । पालिकाको खातामा रकम जम्मा भए पनि लाभग्राहीले नपाउँदा पीडित त्रिपालमुनि बस्नु परेको छ ।
स्थानीय सरकारले पीडितका लागि आएको रकम छिटोछरितो नदिँदा झन्झटिलो प्रक्रियाका कारण बैङ्कले समयमा निकासा नदिएपछि प्रभावित समस्यामा परेका छन् । भेरी नगरपालिका–१, मैदेका सन्तोष रानाले भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न सरकारले दिएको रकम स्थानीय सरकारको ढिलासुस्तीका कारण त्रिपालमा बस्नु परेको बताए ।
पाँच हजार ४०६ लाभग्राही कायम भएको जुनीचाँदे गाउँपालिकामा एक हजार २२८ घरपरिवारले पहिलो किस्ता रकम निकासाका लागि सम्झौता गरेका छन् । लाभग्राहीलाई पालिकाले पहिलो किस्ताको तीन करोड सात लाख रुपैयाँ वितरण गरे पनि अस्थायी आवास निर्माण हुन नसकेको बताइन्छ । ४२ हजार ५२४ लाभग्राहीमध्ये १४ हजार ८०९ जना लाभग्राहीले अहिलेसम्म पहिलो किस्ता रकम पाएका छैनन् । हिउँद सकिन लाग्दा पनि अस्थायी आवासका लागि आएको पहिलो किस्ता पाउनै मुस्किल भएको जनाइएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । जाजरकोट