सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा २५ वर्षपछि सुरु भयो राष्ट्रिय ब्याडमिन्टन

नेपालगन्जमा २५ वर्षपछि राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । नेपालगन्ज रङ्गशालामा बिहीबारदेखि प्रथम नेपालगन्ज खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा २ सय ५० जना खेलाडीहरूले सहभागिता जनाउनु भएको छ ।

बाँके जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा सुरु भएको प्रतियोगिता माघ १३ गतेसम्म नेपालगन्जस्थित कर्भड हलमा हुनेछ । बिहीबार एक समारोहका बिच लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

बाँके जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दिपजंग शाह लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।

नेपालगन्जमा २०५५ सालमा २५औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता भएको थियो । त्यसयता नेपालगन्जमा राष्ट्रिय स्तरको प्रतियोगिता भएको छैन । प्रतियोगितामा पुरुष एकल, पुरुष डबल्स, महिला एकल, भेट्रान-४५ वर्षभन्दा माथि) र मेन्स डबल्स ‘बी’ लेभल इभेन्ट समावेश गरिएको छ ।

प्रतियोगितामा समावेश गरिएको मेन्स डबल्स ‘बी’ लेभल इभेन्ट अन्य भन्दा केही फरक भएको ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले बताउनुभयो । जुन इभेन्टमा सङ्घले आयोजना गरेको राष्ट्रिय र प्रदेश स्तरको प्रतियोगिता खेलेका खेलाडीले सहभागिता जनाउन पाउने छैनन् । नयाँ खेलाडीलाई अवसर प्रदान गर्नको लागि यो इभेन्ट्स समावेश गरिएको आयोजकले बताएको छ ।

प्रतियोगितामा पुरुष एकल विधाको विजेताले ५० हजार, उपविजेताले २५ हजार, तेस्रो र चौथोले समानहरुमा १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । पुरुष डबल्स विजेताले ५० हजार, उपविजेताले २५ हजार, तेस्रो र चौथोले समान १५ हजार, महिला एकल तर्फको विजेताले ४० हजार, उपविजेताले २० हजार, तेस्रो र चौथोले १०–१० हजार  पाउने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

पुरुष डबल्स ‘बी’ लेभलको विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रो र चौथोले १०–१० हजार, भेट्रान्स तर्फको विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रो र चौथोले १०–१० हजार रुपियाँ पुरस्कार पाउनेछन् ।

पूर्व राष्ट्रिय च्याम्पियन एवम् प्रशिक्षक अनिल लाखेले नेपालगन्जमा सुरु भएको प्रतियोगिताले खेलाडीहरूमा नयाँ उत्साह जनाएको बताउनुभयो । विगतमा बाँके जिल्लाका खेलाडीले ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै आएका थिए ।

हालसम्म बाँकेबाट १८ पुरुष र ४ महिला खेलाडीले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । प्रतियोगिता आयोजनामा लुम्बिनी प्रदेश सरकारले सहयोग गरिरहेको छ । अन्य अपुग रकम स्थानीय सङ्घ संस्था र व्यावसायिक प्रतिष्ठानले सहयोग गर्ने अध्यक्ष थापाले बताउनुभयो ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार ०९:३३

लोकप्रिय