सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रियसभा निर्वाचन

राष्ट्रियसभामा एमालेको ‘लज्जास्पद हार’, धन्न कोशीमा जोगियो ‘साख’

कोशी प्रदेशमा बाहेक अरु सबै प्रदेशमा सत्ता गठबन्धनले एमालेलाई नराम्रोसँग ‘क्लिनस्वीप’ गरिदिएको छ ।

राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले एमालेलाई नराम्रोसँग बढारिदिएको छ । एमालेले लज्जास्पद हार व्यहोर्नुपरेको छ । कोशी प्रदेशको एक सिटमा बाहेक अन्यत्र सबै प्रदेशमा एमाले ‘क्लिनस्वीप’ भएको छ । धन्न कोशी प्रदेशमा एमालेकी उम्मेद्वार रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएसँगै एमालेको ‘साख’ जोगिएको छ ।

कोइरालाले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गर्दै राष्ट्रियसभा निर्वाचनमा एमालेको ‘साख’ जोगाउन सफल भएकी हुन् । एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन् भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार पाइन् ।

कोशीमा सत्ता गठबन्धनभन्दा एमाले–राप्रपा गठबन्धन ७९४ मतान्तरले पछाडि थियो । यहाँ सत्ता गठबन्धनका तर्फबाट उम्मेद्वार रहेको काँग्रेस नेता कृष्णप्रसाद सिटौला विजयी भएका छन् । विजयी भएसँगै नेता सिटौला हारको ह्याट्रिकबाट जोगिएका छन् । उनले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै राष्ट्रियसभाको यात्रा सुरक्षित गरेका हुन् ।

तर, निर्वाचनको मतगणना रोचक बन्यो । सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत पाउँदा उद्धवले ४७ सांसदको मत पाए । अर्थात् गठबन्धनबाट पाउनुपर्ने मत उनले पाएका थिएनन् । तर, स्थानीय तहतर्फ भने उनले सोचेअनुसार मत पाएपछि सकारात्मक नतिजा प्राप्त भयो । स्थानीय तहतर्फ सिटौला १५३ जनाको मत पाउँदा उद्धवले १०९ जनाको मात्रै मत पाए ।

यस्तै एमालेका पर्शुराम अधिकारीले पाँच जनाको मत पाए । यस्तै उम्मेदवारी निष्क्रिय बनाए पनि अधिकारीले प्रदेशतर्फ एक मत पाएका थिए । निर्वाचनको नतिजा अनुसार विजयी सिटौलाले कुल ५२९२ मतभार प्राप्त गरे भने पौडेलले ४५६२ मतभार प्राप्त गरे । यस्तै अधिकारीले १४८ मतभार प्राप्त गरे ।

राष्ट्रियसभा निर्वाचनमा मधेस प्रदेशमा पनि सत्ता गठबन्धन विजयी भएको छ । मधेश प्रदेशबाट सत्ता गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित भएका छन् । अन्य कोटा तर्फबाट ७ हजार ३७० मतभार पाएर ढुंगाना निर्वाचित भएका हुन् । ढुंगानाले प्रदेशसभा सदस्यका ६७ र पालिका पदाधिकारीहरुको २०१ मत पाए ।

महिला कोटातर्फ सत्ता गठबन्धनका चौधरीले ७ हजार ९२३ मतभार पाएर जितिन् । उनलाई प्रदेशसभाका ७६ र पालिका पदाधिकारीहरुको २०५ मत परेको छ भने एमालेकी उषा चौधरीले २ हजार ४८४ मतभारसहित पराजित भएकी छन् । उनलाई प्रदेशसभाका २५ र पालिपाका पदाधिकारीको ६१ मत परेको छ ।

एमालेकी उषा चौधरीले दुई हजार ४४६ मतभार पाइन् । उनलाई प्रदेशसभातर्फ २५ र पालिका पदाधिकारीतर्फ ५९ मत परेको थियो । यस्तै बागमती प्रदेशबाट सत्ता गठबन्धनका चारै जना उम्मेदवार विजयी भएका छन् । महिला र दलित, अल्पसंख्यक तथा अपांगता र अन्य क्लष्टरतर्फ सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

महिलातर्फ नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनीले ६ हजार ६२२ मतभारसहित विजयी भए । उनले नेकपा (एमाले)का उम्मेदवार रोचकुमारी चौलागाईंलाई पराजित गरे । चौलागाईंले दुई हजार ५५२ मतभार ल्याए । दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भए । उनले ६ हजार ५१२ मतभार प्राप्त गरे ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ध्रुवराज विश्वकर्माले तीन हजार ५२ मतभार प्राप्त गरे । अन्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार जितजंग बस्नेत निर्वाचित भए । उनले ६ हजार ५३१ मतभार ल्याउँदा नेकपा एमालेका त्रिलोचन निर्मल पौडेलले दुई हजार ३५९ मतभारसहित पराजित भए ।

अल्पसंख्यक तथा अपांगतातर्फ नेकपा (एमाले)का उम्मेदवार विवेक देवकोटालाई पराजित गर्दै माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी निर्वाचित भएका छन् । माओवादी केन्द्रका अधिकारीले ६ हजार ४३६ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका देवकोटाले दुई हजार ७३४ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

गण्डकी प्रदेशबाट पनि गठबन्धनका तीन जना उम्मेदवार विजयी भएका छन् । प्रदेशमा रिक्त तीन सिटका लागि बिहीबार भएको मतदानमा कांग्रेसका किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार र माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका हुन् । श्रेष्ठले ३ हजार ८०८ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४७७ मत पाएका छन् ।

त्यस्तै, कांग्रेसका परियारले ३ हजार ७७९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका हेमन्द्र शेरचनले २ हजार ४५८ मत पाए । माओवादी केन्द्रकी शर्मा ३ हजार ६६० मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी सम्झना देवकोटाले २ हजार ५५३ मत पाइन् । गण्डकीमा गठबन्धनका ३, एमालेका ३ र राप्रपाका २ सहित ८ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

यता लुम्बिनी प्रदेशमा पनि सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भएकी छन् । सापकोटाले ५४३५ मत भार प्राप्त गरी विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बताए ।

गुल्मीकी सापकोटा संस्थापन इतरकी हुन् । सुरुमा उनको ठाउँमा संस्थापन पक्षले अर्घाखाँचीकी पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी गरेको थियो तर संस्थापन इतरले चर्को विरोध गरेपछि अन्तिममा सापकोटालाई टिकट दिइएको थियो । अन्य तर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भएका छन् ।

रोल्पाका सुवेदीले नेकपा एमालेका झपेन्द्र जीसीलाई पराजित गरेका हुन् । अन्य तर्फको मत परिणाम औपचारिक रुपमा घोषणा हुन बाँकी छ । दुई पदमा ६ जनाले प्रतिस्पर्धा गरेका थिए । जनमत पार्टीको तर्फबाट अन्य क्लस्टरमा नवलपरासीका बालगोविन्द चौधरी उम्मेदवार थिए भने महिलातर्फ राप्रपाकी विजयालक्ष्मी सिंह उम्मेदवार थिइन् ।

लुम्बिनी प्रदेशमा १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जना र प्रदेशसभाका ८७ जना सांसद मतदाता थिए । ३०५ जना मतदाता रहेकोमा प्रदेश सभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका २१८ मतमध्ये २१६ मत गरी ३०३ मत खसेको थियो । प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रति मतदाता मतभार १९ रहेको छ ।

कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । विजयी उम्मेदवारहरु तीनै जना गठबन्धनका उम्मेदवारहरु भएका थिए । दलित, महिला र अन्य कोटामा निर्वाचन अन्तरगत अन्यतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा एकीकृत समाजवादीका सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णु विक विकल्प रहेका छन् ।

मल्लले प्रदेशसभातर्फ २९ र स्थानीय तहतर्फ ११५ मत प्राप्त गरिन् भने विकले प्रदेशसभातर्फ २९ र स्थानीय तहतर्फ १२० मत प्राप्त गरे । यस्तै रोकायाले प्रदेशतर्फ ३० र स्थानीय तहतर्फ १२० मत प्राप्त गरेका छन् । तीन वटा सिटका लागि भएको निर्वाचनमा ६ जनाले उम्मेदवारी दिएका थिए । जसमा गठबन्धनका तीनै जना उम्मेदवारहरु विजयी भए ।

एमालेका उम्मेदवार विमला शाहीले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ४१ मत प्राप्त गरिन् भने हिक्मत विकले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ३६ मत प्राप्त गरे । यस्तै डिल्लीप्रसाद भट्टले प्रदेशमा १० र स्थानीयतर्फ ३६ मत पाएका छन् । यता सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनले ‘क्लिनस्वीप’ गर्दै तीन वटै क्लस्टरमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

अन्य क्लस्टरतर्फ काँग्रेसका बलदेव बोहरा विजयी भएका छन् भने महिलातर्फ नेकपा (माओवादी केन्द्र)की रेणु चन्द विजयी हुँदा अल्पसंख्यक–अपांगता क्लष्टरबाट नेपाली कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए । एमालेबाट रामचन्द्र जोशी, सावित्रा घिमिरे र ईश्वरीप्रसाद खनाल उम्मेद्वार रहेकामा तीनैजना पराजित भएका हुन् । राष्ट्रियसभामा प्रदेशसभा सदस्यको मतभार ५२ र स्थानीय पालिका पदाधिकारीको मतभार १९ हुन्छ ।

बिहीबार सम्पन भएको संघिय संसदको माथिल्लो सदनको निर्वाचनमा अधिकाश स्थानमा सत्ता गठवन्धनका उम्मेदबारले जित हात पारेका छन् । मतदानपछि आजै भएको मतगणनामा एक सिटबाहेक अन्य सबैमा सत्ता गठबन्धनका उम्मेवार विजयी भएका हुन्। सत्ता गठबन्धनले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, मधेश, गण्डकी र बागमती एकलौटी जित हासिल गरेको छ । कोशीमा भने एक सिट एमालेले जितेको छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १८:५२

लोकप्रिय