सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि स्वस्थानी व्रतकथा

सुन्ने र सुनाउने कथा, ‘स्वस्थानीको कथा’

कुमारी हुन् या विवाहिता जोसुकै यो व्रतबाट लाभान्वित हुँदै आएका भेटिन्छन् । श्रीस्वस्थानी देवीको विधिपूर्वक ब्रत बस्नाले दरिद्रता नाश हुने, नवग्रह शान्त हुने, बिछोड भएका जोडीको पुनः मिलन हुन्छ भन्ने धार्मिक विश्वास छ ।

नेपालमा धेरै श्रद्घा र विश्वासका साथ गर्ने कठिन व्रतमध्ये एक व्रत स्वस्थानी माताको व्रत पनि हो । पौषशुक्ल पूर्णिमादेखि आरम्भ गरेर माघशुक्ल पूर्णिमासम्म एक महिना लिइने व्रतलाई स्वस्थानी व्रत भनिन्छ । यस व्रतमा परमेश्वर शिव र परमेश्वरी पार्वतीको नित्य मध्यान्ह्कालमा पूजा आराधना गरिन्छ ।

यो कथा स्कन्दपुराणको केदारखण्डमा महादेवले पार्वतीलाई बताएको र पछि स्कन्दकुमारले अगस्त्य मुनिलाई बताएको पाइन्छ । स्कन्दपुराणन्तर्गत माघ माहात्म्यमा स्वस्थानीको व्रतका विषयमा उल्लेख गरिएको छ । यो व्रत स्त्रीजाति अथवा पुरुषजाति जसले लिए पनि हुन्छ । श्री स्वस्थानी व्रत भारत लगायत अन्य हिन्दूबहुल राष्ट्रमा त्यति धेरै लोकप्रिय नभए पनि नेपाली समाजमा भने ज्यादै लोकप्रिय छ ।

पौराणिक कथन

सत्य युगमा भगवान विष्णुको सल्लाहअनुसार यो व्रतको पहिलो अनुष्ठान हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन व्रत बसेको भन्ने पौराणिक कथन छ । चिताएको पुरा भएको विश्वासमा स्वस्थानी व्रत कथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । पद्यपुराण केदारखण्ड माघ माहात्म्यअन्तर्गत स्वस्थानी व्रतको वर्णन गरिएको छ । श्री स्वस्थानी व्रत कथामा अलगअलग प्रसंग पाउन सकिन्छ ।

एक अध्यायदेखि १८ अध्यायसम्मको कथा स्कन्धपुराणसँग सम्बन्धित छ भने १९औं अध्यायदेखि ३१ अध्यायसम्मको कथा मौलिक मान्न सकिन्छ । जुन पद्यपुराणसँग निकट देखिन्छ । व्रत कथामा उल्लेख भएअनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पति महादेवलाई बाबु दक्षप्रजापतिले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा उनको जन्म भएको मानिन्छ ।

यस कथाका प्रमुख नायक नायिका शिव पार्वती यहाँ विभिन्न नामले छरिएर रहेका शक्तिपीठमा अवस्थित देवीदेवता हुन् । असमयमा शरीर त्याग गर्ने सतीको निर्जीव शरीर दाम्पत्य प्रेमले आकर्षित बनी बोकेर भौतारिने शिवले विचरण गरेका बहुसंख्यक ठाउँ यहाँ छन् । त्यसैले अहिले पनि आस्थापूर्वक यसको व्रत बस्ने हिन्दु नारीहरु प्रशस्त पाइन्छन् ।

विशेष गरी महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले व्रतकथामा वर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको ब्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको, राजमाता बन्ने सौभाग्य प्राप्त भएको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको र स्वस्थानी माताकै प्रभावले शालीनदीको किनारमा ढुंगाझैं अचेत अवस्थामा रहेकी चन्द्रावतीले दिव्यदेह प्राप्त गरेको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ ।

वास्तवमा वैधव्य दोष हरण गरी आफ्नो स्थितिमा सुस्थिर राख्न सहयोग पुर्याउनु स्वस्थानी ब्रतकथाको लक्ष्य देखिन्छ । विशेष गरी महिलाहरू व्रतालु हुने यो ब्रत बस्नाले व्रतकथामा वर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । महिमा बोध गराउने उदाहरणका रुपमा प्रस्तुत गरिएका यी कथा प्रसंगले आजसम्म पनि असंख्य नरनारीलाई प्रभाव पारेको छ र प्रेरणा प्रदान गरेको छ । कुमारी हुन् या विवाहिता जोसुकै यो व्रतबाट लाभान्वित हुँदै आएका भेटिन्छन् ।

श्रीस्वस्थानी देवीको विधिपूर्वक ब्रत बस्नाले दरिद्रता नाश हुने, नवग्रह शान्त हुने, बिछोड भएका जोडीको पुनः मिलन हुन्छ भन्ने धार्मिक विश्वास छ । रोग–ब्याधा लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । व्रतको प्रभावले विछोडमा परेका नाग–नागिनीको समेत पुनः मिलन भएको कथामा उल्लेख छ । त्यसको अनुकरण नागनागिनीहरुले गरेका थिए । जसको प्रतिफल धेरै कालदेखि बिछोड भएका पतिहरुसँग भेट गर्ने अवसर प्राप्त गरेका थिए । घर र माइतीको आनकातान विषमतालाई पुरै पचाएर घरजम सम्हाल्ने नारीको कथा पनि स्वस्थानीको क्षेत्रभित्र पर्दछ ।

सामाजिक परिवेश

स्वस्थानीको कथामा पौराणिक कालका पात्रहरुको प्रयोग गरिए पनि सामाजिक परिवेशको झल्को पाउन सकिन्छ । पात्रहरुको चरित्रचित्रण एवं स्वभावका सम्बन्धमा विचार गर्दा पौराणिक भइकन पनि हाम्रा घरआँगनमा घटेका र घट्न सक्ने स्वभाविक घटनाजस्ता लाग्छन् । स्वस्थानी माताको ब्रत कथामा उल्लेख गरिएको शाली नदी काठमाडौं उपत्यकाको पूर्वी भेगमा अवस्थित छ । यहाँ स्वस्थानी माताको कृपा प्राप्त गरी राजा बन्ने सौभाग्य पाएका नवराजकी रानी चन्द्रवतीको उद्धार भएको धार्मिक विश्वास मानिन्छ । जहाँ कैयौं संख्यामा नारीहरु विविध किसिमका आन्तरिक संकल्पले प्रेरित भई सौभाग्यसूचक राता वस्त्र धारण गरी अहिले पनि व्रत बस्ने गरेका छन् ।

दाम्पत्य स्नेहको परीक्षणका लागि शिवले धारण गरेको किराँतेश्वरस्वरुप र मृगरुप लिई विचरण गरेको श्लेष्मान्तक वन अझैसम्म प्रत्यक्ष साक्षी छन् । यो ब्रतकथामा उल्लेखित विषयवस्तु र घटना पनि नेपालकै सेरोफेरोमा घटेको थियो भनी स्कन्द पुराणमा उल्लेख पाइन्छ । स्वस्थानी माताकै आरधानाले विधवा ब्राम्हणी गोमाले विदेसिएको छोरोसित भेट गरी राजमाता बन्ने सौभाग्य पाएकी थिइन् । जीवनलाई जसोतसो धकेलेर समय गुजार्न वाध्य भएका गोमाजस्ता नारीहरु पनि यहाँ थुप्रै भेटिन्छन् । जीवन गुजाराको स्रोतसाधन जुटाउन नसक्दा विदेशिने नवराजजस्ता छोराहरुले गरेका संघर्ष आज पनि परदेशमा प्रशस्त भेटिन्छन् ।

त्यतिमात्र होइन, पति विछोडले विह्वल भएका चन्द्रवतीजस्ता बुहारीले पनि आज समाजमा अनेकौं लान्छना सहेर भए पनि आसपासमा शरण लिएर जसोतसो निर्वाह गरिरहेका छन् । अर्कोतिर समाजमा स्वस्थानी देवीलाई निन्दा गर्दा चन्द्रवती कुष्ठरोगले ग्रस्त बनी ठूलो दुर्गतिमा परेका थुप्रै नरनारीका कारुणिक कथा पढ्न पाइन्छ । पश्चातापपूवर्क अप्सराहरुको संसर्गले स्वस्थानी ब्रतकै अनुष्ठानबाट रानीको पद प्रप्त गर्न सफल चन्द्रवती झै भाग्यले साथ दिएका नारीहरु पनि उत्तिकै भेटिन्छन् । कैयौं परिवारमा शिवभट्ट ब्राम्हण र सति ब्राम्हणीका प्रतिनिधिहरुले स्वस्थानीको उपासना र आरधाना गरी अभीष्ट सिद्धिको चाहना राखेको पाइन्छ ।

यहाँका कैयौं घरपिँढीमा विदेसिएका आफन्त फर्किने आशमा टिठालु आँखा लिएर टुक्रुक्क बसेका शिवशर्मालाई टुप्लुक्क देख्न सकिन्छ । लोक कल्याणका लागि सती वृन्दाको श्राप शिरमा थापी विभिन्न आकारप्रकारका शालिग्रामरुपी शिला, कालिगण्डकीका गड्तिरमा भेटिन्छन् । घाँसरुपी कुश बारिका काल्नाभरि उम्रिन्छन् । झाररुपी तुलसी मठमा मगमगाउँछन् । वृक्षरुपी पीपलले चौतारीको शोभा थपेका छन् । यिनको दर्शन गर्न यहाँकै वनपाखा, भञ्ज्याङ र देवी द्यौरालीहरुमा पाइन्छ ।

कथामा गोमाले भोग्नुपरेको पीडा र जीवन संघर्षको कथालाई अघि सार्दै एक नाबालिका त्यसमाथि बिधुवा गर्भवती भएमा सामाजिक रूपमा उनको जीवन कष्टकर हुन्छ भन्ने यहाँ देखाइएको छ । वास्तवमा यहीँ पीडाबोधबाट सम्पूर्ण नारी मुक्त हुनुपर्छ भन्ने हेतुले कथाकारले कथालाई हर व्यक्तिको कानमा पुगोस् भनेर कथामा पटकपटक यो कथा श्रीमान् छोराछोरी छिमेकी आदिलाई सुनाउनु कोही नभए घरको भित्ता आदिलाई भए नि सुनाउनु भनिएको हुनुपर्छ ।

व्रतको विधिविधान

‘म आज पौषशुक्ल पूर्णिमाका दिनदेखि माघशुक्ल पूर्णिमासम्म नियममा रही श्रीस्वस्थानी परमेश्वरीको व्रत बसी पूजा गर्दछु र कथा समेत सुन्छु ।’ भनी सङ्कल्प गरेर सूर्यनारायणलाई अर्घ दिएर प्रायश्चित्त गोदान गरी व्रतको आरम्भ गरिन्छ । कसैसँग झगडा नगर्नु, दुर्वचन नबाल््नु, झुटो नबोल्नु क्रोध नगर्नु, कसै प्रति दुर्भाव नराख्नु, चोरी नगर्नु , ब्रह्मचर्य को पालन गर्नु, शुद्घ धोएका बस्त्रहरू मात्रै लगाउनु, शौच गएपछि जलको प्रयोगले सफाई गर्नु, सात्विक भाव मात्र हृदयमा राख्नु यस ब्रतका अनिवार्य नियम मानिन्छ ।

पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीको दिनदेखि नै दुबै हातखुट्टाका नङ्हरू काटी, शुद्ध बस्त्र पहिरिएर ब्रतको शुरुआत हुन्छ । दुध दही, जौं, गौं चामल, तिल घ्यू, सख्खर इत्यादि सात्विक पदार्थहरू भोजन ग्रहण गरिन्छ । स्वस्थानी माताको स्थापना–पूजा गर्ने ठाउँको बन्दोबस्त गरेपछि हरेक दिन बिहान माघ स्नान गरी नित्य मध्याह्न कालमा महादेवको पूजा गरिन्छ । व्रत गर्नेले शुरुका दिनदेखि व्रत नसकिदासम्म पलङ् र खाटको पनि त्याग गरी भूमिमा शयन गर्नुपर्दछ । एक छाक मात्र सात्विक भोजन ग्रहण गर्नुपर्दछ । व्रत नसकिदासम्म ब्रतालु पुरुष भए रौंं काट्न पनि हुँदैन भन्ने चलन छ ।

साँझ बिहानको पूजापछि घरपिढीँमा बसेर स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको पार्वती पुत्र कुमार अगस्त्यबीच संवाद रहेको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । यस क्रमले माघ शुक्ल पूर्णिमाको दिन नित्य भनिने कथा समाप्त गरी विशेष पूजा अर्थात साङ्गे गरिन्छ । तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिवलिंङ्ग बनाई त्यही थालीको मध्यमा स्थापना गरिन्छ । श्री स्वस्थानी मातासंगै मेरो पनि पूजा गर्नु भनी श्री महादेवबाट आज्ञा भएको जनविश्वास छ ।

व्रत प्रतिष्ठापछि, हे स्वस्थानी माता हजुरका कृपाले मेरो व्रत पूरा भयो भनी अघ्र्य दिई माथिका सबै १ सय ८ प्रसादहरू मध्येबाट आठ आठवटा प्रसाद झिकेर ‘आठ रोटी, आठ अक्षता आठ पान, आठ कुड्का सुपारी र सगुन’ सहित आफ्ना श्रीमान् लाई दिइन्छ । श्रीमान् नभए आफ्ना छोरालाई दिनु, छोरा पनि नभए मित छोरालाई दिनु , मित छोरा पनि नभए मेरो अमुक कार्य पुरा होस् भनी नदीमा बगाई दिनु र सय रोटी आफूले फलाहार गरी प्रतिष्ठाको रातमा जाग्रम बस्नु र बिहान बिधिपूर्वक सूर्यलाई अर्घ दिएर व्रतको बिसर्जन गरिनुपर्छ भन्ने कुरा स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ ।

निष्कर्षमा

स्वस्थानी व्रतकथा समयसामयिक नेपाली समाजको दस्तावेज हो । तथापि समाजमा स्वस्थानी व्रतप्रति अनआस्था जगाउनेहरु पनि नभेटिएका भने होइनन् । यति हुँदाहुँदै पनि जुन तारकासुरको विप्लवकारी कथा हामी स्वस्थानीमा सुन्छौं । तिनले आजभोलि मानवकै रुप लिएर समाजमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा दुख दिने हुँदा संकल्पका साथ हटाएर सामाजिक हितमा अघि बढ्नु राम्रो हुन्छ ।

समाजमा लुकेको पीडालाई पौराणिक पात्रमार्फत उजागर गर्न खोजिएको यस कथामा पौराणिक पात्रहरुलाई नै समाजको प्रतिनिधि बनाएर महिला हिंसाको विरुद्धमा लेख्ने प्रयास गरिएको छ । तर यसलाई उल्टै महिला हिंसाको कारकको रूपमा केही अधिकारकर्मीले कतैकतै अपव्याख्या पनि गरिएको अवस्था छ । कथामा थुप्रै वियोगान्त र बिछोडका सन्दर्भ भेटिए पनि अन्ततः कथामा ह्याप्पी इन्डिङ पनि छ । महिला शिक्षा, निष्ठा, प्रेम र अनुशासनको यस महान माधवनारायण पर्वको सबैलाई शुभकामना ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार ०९:५१